भारतमा चक्रवात ‘निसर्ग’ आउँदै, बिहीबारदेखि नेपालमा प्रत्यक्ष प्रभाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७७, मंगलवार १७:३३

काठमाडौं । भारतमा आउन लागेको चक्रवात निसर्गले नेपालमा हावाहुरीसहितको बर्षा गराउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव केही दिनअघि आएको अम्फान चक्रवातको भन्दा बढी हुनेछ । महाशाखाका अनुसार मंगलबार बेलुकीदेखि नै नेपाली आकासमा बादल आउने क्रम सुरु हुने र बिहीबारदेखि तीन दिनसम्म मध्यम बर्षा हुनेछ ।

नेपालका पश्चिमी क्षेत्र, उच्च पहाडी र हिमाली क्षेत्रमा बढी प्रभाव हुने भनिएपनि देशैभरि सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पश्चिम तटीय क्षेत्रमा आउन लागेको निसर्ग चक्रवात अम्फानको तुलनामा केही कम्जोर भनिए पनि तिब्र गतिको हावाहुरीसहित बर्षा हुने र केही स्थानमा भूस्खलन हुने भारतीय मौसम विभागले जनाएको छ ।

अरब सागरमा तिब्र गतिमा चलिरहेको हावा चार किलोमिटर प्रति घण्टाका दरले उत्तर तर्फ अघि बढिरहेको छ । निसर्ग चक्रवातका कारण उत्पन्न हावा अहिले मुंबइको तटीय क्षेत्रदेखि ५५० किलोमिटर र गुजरातको सुरतको दक्षिण पश्चिमी क्षेत्रदेखि ८०० किलोमिटर टाढा रहेको छ । बुधबार उग्र रुप लिने अनुमान गरिएको निसर्ग चक्रवातले महाराष्ट्रको उत्तरी क्षेत्र र गुजरातको दक्षिणी क्षेत्रमा प्रभाव पार्ने भारतीय मौसम विभागले जनाएको छ ।

चक्रवात निगर्सले उग्र रुप लिंदा हावाको गति १०५ देखि ११५ किलोमिटर प्रति घण्टाको गतिमा रहनेछ भने बुधबार बढेर १२५ किलोमिटर प्रति घण्टा पुग्नेछ । भारतीय मौसम विभागका अनुसार जुन ४ मा चक्रवात निसर्गको गति घटेर हावाको गति ६० देखि ७० किलोमिटर प्रति घण्टा पुग्ने छ ।

महाराष्ट्र सरकारले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै मुंबई र आसपासका क्षेत्रमा रेड अलर्ट जारी गरेको छ । त्यस्तै बढी प्रभाव पर्ने भनिएका क्षेत्रमा नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) का दश वटा टुकडी परिचालन गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१