काठमाडौं । प्रधानमन्त्री तथा नपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ करीब डेढ घण्टा भएको भेटवार्तामा समसामयीक राजनीति बारे चर्चा भएको बताइएको छ । दुबै अध्यक्षबीचकाे छलफल पश्चात आज बिहान ९ः३० बजे सचिवालयकाे बैठक बाेलाउने निर्णय भएकाे बताइएकाे छ ।
यही जेठ १० गते बसेकाे नेकपा सचिवालयकाे बैठकमा एमसीसी अध्ययन कार्यदलले बुझाएकाे प्रतिवेदनमा प्रारम्भिक छलफल भएकाे थियाे । उक्त बैठकमा प्रधानमन्त्री ओली भने अनुपस्थित थिए । केही प्रावधान परिमार्जन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन एमसीसी अध्ययन कार्यदलले पार्टीमा बुझाएको छ । उक्त बैठकमा परिमार्जन गर्नुपर्ने प्रावधानबारे छलफल भएकाे थियाे ।
नेकपामा एमसीसीबारे विवाद रहेकाे छ । सचिवालयका केही नेताहरू एमसीसी परिमार्जन बिना पारित गर्नुपर्ने पक्षमा रहेका छन् भने केही नेताहरू परिमार्जन सहित पारित गर्नुपर्ने पक्षमा रहेका छन् । नेकपा केन्द्रीय समिति बैठकले एमसीसी अध्ययन कार्यदल बनाउने निर्णय गरेकाे थियाे ।
प्रतिक्रिया