प्रतिनिधिसभाको शून्य समय, कसले के भने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०७७, बिहीबार ०४:५९

काठमाडौं । सांसदहरुले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीलाई चुस्त दुरुस्त पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढिरहँदा भारतीय सीमा र तराईका जिल्लामा परीक्षण किटको अभाव भएको भन्दै उनीहरुले आवश्यक स्वास्थ्य सामग्री आपूर्तिको व्यवस्थालाई चुस्त दुरुस्त राख्न माग गरेका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले क्वारेन्टाइन र आइसोलेसनको संख्या बढाउनुको साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनलाई व्यवस्थित बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी रुकुम पश्चिमको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न, खेती लगाउने समय भएकाले किसानलाई धानको बिउ र मल सुलभ ढंगले उपलब्ध गराउन, लकडाउनबाट प्रभावितका लागि राहतको व्यवस्था गर्न पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद बिमला बिकले बर्दियामा कोरोना भाइरस परीक्षण गर्ने सामग्री अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले तराईका जिल्लामा क्वारेन्टाइन, आइसोलसन र परीक्षण बढाउनुको साथै बर्दिया जिल्लामा कोरोना विशेष अस्पताल बनाउन पनि माग गरिन् ।

सांसद भिमसेनदास प्रधानले काठमाडौंका नाकामा रातभर आवतजावत भइरहेको भन्दै नाका सिल गरी काठमाडौंमा क्वारेन्टाइन क्षमता बढाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद भैरवबहादुर सिंहले विश्व स्वास्थ्य संगठनले जारी गरेको मूल्य मान्यता विपरीत क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतले लखेट्ने काम गरेको तथा भारतबाट फर्किएकालाई राख्नका लागि सीमा जिल्लामा क्वारेन्टाइन अभाव भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्ला कोरोना भाइरस परीक्षण किटको अभाव भएको भन्दै तत्काल आवश्यक किटको व्यवस्थापन गर्न माग गरे । उनले ठूलो संख्यामा भारतबाट फर्किएकाहरुको किट अभावका कारण परीक्षण हुन नसकेको गुनासो गरे ।

सांसद रंगमती शाहीले सांसद विकास कोषको रकम स्वास्थ्य परीक्षण र स्वास्थ्य सामग्री खरिदमा लगाउन आग्रह गरिन् । अहिले सांसदहरुको भूमिका कोष चलाउने नभएर जोस चलाउने भएको भन्दै उनले विकास निर्माणमा पठाउनुभन्दा त्यसको अनुगमनमा सीमित राख्नुपर्ने बताइन् ।

सांसद रविन्द्रराज शर्माले पिसिआर मेसिन र परीक्षण किटको शीघ्र व्यवस्थापन गर्न सांसद विकास कोषको रकम खर्च गर्नुपर्ने बताए । दैलेखमा ४० हजारभन्दा बढी नागरिक भारतबनाट भित्रिने अवस्था रहेको र हाल ५० वटा मात्रै पिसिआर परीक्षण किट रहेकाले तत्काल आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न नसके महामारी फैलिन सक्ने चेतावनी दिए ।

सांसद राजबहादुर बुढा क्षेत्रीले भारतबाट आउने नागरिकसँगै कोरोना पनि आउने भएकाले नियन्त्रण तथा रोकथामका लागि आवश्यक जनशक्ति र भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई रकम उपलब्ध गराउनुपर्ने माग गरे ।

सांसद रेखा शर्माले भारतबाट ठूलो संख्यामा संक्रमितहरु आइरहेकाले कोरोना भाइरसको परक्षिण र क्वारेन्टाइनको उचित व्यवस्था गर्न सरकारलाई आग्रह गरिन् । यस्तै, सांसद लक्ष्मीकुमारी चौधरीले कोरोनाबाट सुदूरपश्चिम उच्च जोखिम रहेकोले पिसिआर परीक्षणको दायरा बढाउन आग्रह गरिन् ।

सांसद मातृकाप्रसाद यादवले सरकारले कोरोना नियन्त्रणका लागि गरिरहेका प्रयासहरु पर्याप्त नभएको बताए । उनले यसको दीर्घकालिन व्यवस्थापनतर्फ ध्यान दिन आग्रह गरे ।

सांसद भरत कुमार शाहले मुलुकभरका क्वारेन्टाइनलाई व्यवस्थित बनाउन पनि माग गरे । उनले खेती लगाउने समयमा धानको बिउ ३०० प्रतिशत बढी लिएर बेच्ने गरेको गरिएको पाइएको उल्लेख गर्दे सर्वसुलभ बिउ उपलब्ध गराउन सरकारसँग माग गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१