गाउँपालिका अध्यक्ष र वडाअध्यक्षबीच बैठकमै हात हालाहाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७७, आईतवार ०५:१९

रोल्पा । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण बारे गाउँपालिकाले गरेको निर्णयविरुद्ध वडाले अर्को निर्णय गरेपछि गाउँपालिका अध्यक्ष र वडाअध्यक्षबीच हात हालाहाल भएको छ । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती र ४ नं. वडाअध्यक्ष गन्जबहादुर क्षेत्रीबीच शुक्रबार साँझ गाउँ कार्यपालिकाको बैठकमै हात हालाहात भएको हो ।

जेठ ६ वडाअध्यक्ष क्षेत्रीकै उपस्थितिमा पूर्वी रोल्पाका तीन गाउँपालिकाको संयुक्त बैठकले गरेको निर्णयमा हस्ताक्षर गरेका क्षेत्रीले बुधबार बाझिने गरी अर्को निर्णय गरेपछि विवाद सुरु भएको थियो । तीन गाउँपालिकाको बैठकले पालिकाभित्र रहेका बैंकहरुलाई दैनिक सञ्चालनका लागि आग्रह गर्ने निर्णय गरेकोमा वडाध्यक्ष क्षेत्रीले सातामा दुई दिन बैंक सञ्चालन गर्ने निर्णय गरेर अनुमोदनका लागि गाउँ कार्यपालिकामा लगेपछि भएको विवादले हात हालाहालको अवस्थासम्म पुर्याएको हो । गाउँपालिका अध्यक्ष घर्तीले धकेलाधकेल भएको स्वीकार गरे ।

‘उहाँ (वडाअध्यक्ष)कै सहभागितामा भएको तीन गाउँपालिकाको बैठकले गरेको निर्णय विपरित वडामा अर्को निर्णय गरेपछि गाउँपालिकाले स्वीकृत नगर्ने कुरा गरेको हुँ’ गाउँपालिका अध्यक्ष घर्तीले नागरिकखबरसँग भने ‘त्यसैमा आक्रामक रुपमा सवालजवाफ गर्दै कुर्सीबाट उठ्नुभयो, त्यसैमा धकेलाधकेल भएको हो ।’

यसरी बाझियो निर्णय

जेठ ६ गते पूर्वी रोल्पाका सुनिलस्मृति, सुनछहरी र लुंग्री गाउँपालिकाका अध्यक्षहरुसहितको बैठकले विभिन्न सात बुँदे निर्णय ग¥यो । जसको बुँदा नं. २ मा थियो बैंकहरु दैनिक खोल्न आग्रह गर्ने ।

साप्ताहिक रुपमा खोल्दा सेवाग्राहीको भिड हुने भएकाले दैनिक खोल्ने, जसले भिडभाड कम हुने र कोरोना जोखिम रोक्न सहज हुने निष्कर्षसहित तीन गाउँपालिकाले निर्णय गरे । कोरोना भाइरस संक्रमण देखिएका जिल्लाबाट खाद्यान्न तथा निर्माण सामाग्री ढुवानी नगर्न र अत्यावश्यक ढुवानीका लागि सुरक्षित रही सम्बन्धित वडाको सिफारिस र गाउँपालिकाको अनुमति लिन व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरे ।

तर, तीन गाउँपालिकाले दैनिक बैंक खोल्न गरेको निर्णय विपरीत सुनिलस्मृति गाउँपालिका वडा नं. ४ का अध्यक्ष क्षेत्रीले साताको दुईदिन (सोम र बिहीबार) बैंक र लघुवित्त साताको तीनदिन (आइत, सोम र बिहीबार) खोल्ने निर्णय गराए । बैंकहरु भएको सुलिचौर बजार क्षेत्रीकै वडामा पर्छ । उनले अघिल्लो निर्णयविपरीत यस्तो निर्णय गरेको भन्दै गाउँपालिकाले अस्वीकार गर्यो र विवाद सुरु भयो ।

तीन गाउँपालिकाको बैठकमा भएको सर्वसम्मत निर्णयविरुद्ध वडाले अर्को निर्णय गरेकोमा आफू आफू आश्चर्यमा परेको गाउँपालिका अध्यक्ष घर्ती बताउँछन् ।

राजनीतिका कारण बेलाबेला विवादमा आउने सुनिलस्मृति गाउँकार्यपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसको प्रतिनिधित्व छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती नेकपा र वडाअध्यक्ष क्षेत्री नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन् ।

विवादपछि विज्ञप्तीबाजी

शनिबार साँझ गाउँपालिकाले वक्तव्य जारी गरेर वडाध्यक्ष क्षेत्रीले अपशब्द प्रयोग गरेपछि सवाल जवाफ हुँदा गाउँपालिका अध्यक्षमाथि क्षेत्रीले हात हालेको बताएको छ । गाउँपालिकाका प्रवक्ता नवराज थापाले वक्तव्य जारी गरेर वडाध्यक्षमाथि गाउँपालिका अध्यक्षले हातपात नगरेको दाबी गरेका छन् ।

कांग्रेसले विज्ञप्ती जारी गरेर गाउँपालिका अध्यक्षले वडाध्यक्षमाथि आक्रमण गरेको आरोप लगाउँदै कार्वाहीको माग गरेको छ । यस्तै ४ नं. वडाकार्यालयले पनि विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्षमाथि कार्वाही माग गरेको छ । वडाअध्यक्ष क्षेत्रीले कार्वाही गरिपाउँ भन्दै इलाका प्रहरी कार्यालय सुलिचौरमा ठाठो उजुरी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१