बोक्सीको आरोपमा कहिले सम्म यातना…?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार ११:३२

मिना श्रेष्ठmina stha

युगौ देखि हाम्रो घरगाँउमा बोक्सी फलानो भन्ने अनि बोक्सीको नाउँमा अपहेलना त्रास यातना हत्या बिभिन्न घटनाहरु घट्दै आएको पाइन्छ । पछि पारिएका महिलाहरु माथी राज्यवाट र समाजवाट विभिन्न खाले विभेदहरु हुने गरेका छन । कहिले संस्कृतिका नामवाट कहिले गरिव हुनुका कारणवाट कहिले महिला हुनुकै कारणवाट विभिन्न खाले विभेदवाट हिंसाको शिकार बन्न परिरहेको छ । कतै मानसिक यातना र कतै शारिरिक यातना भोग्दै मर्नु परिरहेको छ । यस्तै यातना र हिंसाको एउटा कारण वोक्सी आरोप पनि हो । वोक्सीले हेर्दै खेरि विरामी हुन्छ, भेदेर विरामी गराउँछन, राम्रा बच्चाहरु वोक्सीले देखे नजर लाग्छ । शरिरमा विशेष गरि तिघ्रामा निलो दाग बसे वोक्सीले चुसेको, वोक्सी हिडेको वाटोमा छायाँ लाग्छ, वोक्सीले हेरे सेल पकाउन लागेको बिग्रिन्छ, गाई भैसीले दुध दिन्न भनेर अझै पनि गाँउघरमा भन्ने गरिन्छ । यी चिन्तनहरु आलै छन । यस्ता आरोपहरु अधिकांश गरिवीको मार सहिरहेका अनुहार नराम्रो, दात नराम्रो भएका, श्रीमान मरेर एकल जीवन विताइरहेका महिलालाई लगाउने गरिन्छ । गरिव हुनु, दाँत अनुहार नराम्रो हुनु, एकल हुनु कुनै पनि महिलाको रहर हुन्न । त्यो वाध्यता हो, तर हाम्रो समाजभित्र नराम्रो र दुखी हुनुलाई सहानुभुति होइन, अझै हिंसा हुने ढङ्गले हेरिन्छ र हिंसा गरिन्छ ।
केहि महिना अघि पर्सा जिल्लाको बेला वाघवन्ना गाविस ३ कि पचास वर्षिया एकल महिला बुधिया देवी माझीलाई बोक्सीको आरोपमा चरम शाररिक यातना दिएपछि उनि आफ्नो गाउँवाट विस्थापित भएकी थिइन । छिमेकी गोगनी देवी माझीको उक्साहटमा झाक्री लालमति माझीले शाररिक यातना दिएपछि बुधिया देवी ज्यान जोगाउन छोराछोरी घरमै छाडेर भागेकी थिइन । छिमेकी गोगनी देवीको छोरी विरामी बनाएको भन्दै झाक्रीको  कामगर्ने लालमति देवीले बुधिया देवीको शरिरमा फलामको चिम्टा तताएर डामेकाले उनको शरिरभरि घाउ नै घाउ भएको थियो । पर्साकै मोडली गाविस कि ४५ वर्षिया राजपति देवी माथि वोक्सीको आरोप लगाउदै १२ घण्टाभित्र गाउँलेले गाउँ छोडन उर्दि जारी गरेको थियो । स्थानिय संघ संस्थाले गाउँलेको उक्त निर्णय विरुद्ध असहमति जनाएर रोकेका थिए । स्थानिय हरेन्द्र यादवकी बुहारीले आफ्नी सासुलाई राजपति देवीले टुनामुना गरेको आरोप लगाएपछि गाउँलेले धर्मनाथ यादवलाई पत्नि सहित गाउँ छाडन १२ घण्टे उर्दि जारी गरेका थिए । उर्दि जारी गर्नु अघि राजपति देवीको गर्भवति छोरीलाई लछारपछार गर्दै कुटपिट समेत गरेका थिए । गाउँ भेलामा गाउँ निकालाको निर्णय गर्न उक्त गाविसका पुर्व अध्यक्ष, पुर्व वडाध्यक्ष लगाएतको सक्रिय भुमिका रहेको थियो । ति मध्ये पुर्व गाविस अध्यक्षसङ्ग ६ वर्ष अघि देखि जग्गाको स्वामित्व सम्बन्धि अदालतमा राजपति देवीका पति धर्मनाथ सँग मुद्धा चलिरहेको थियो ।
त्यस्तै केहि महिना अघि सिन्धुली रानीचुरि ४ किर्ने खोलाका एकै घरमा देवरानी जेठानी २७ वर्षकी मधु कुमारी घिसिङ्ग र ३५ वर्षकी सोममाया घिसिङ्गलाई बोक्सीको आरोपमा स्थानियवासीले सिस्नो लगाएर मलमुत्र खुवाएका छन । वैठक छ भनेर स्थानिय हर्क बहादुर स्याङ्गतान र दिल बहादुर थिङ्गले डाकेपछि धामी भनिने जनक बहादुर थिङ्गको आदेशमा दुवै देवरानी जेठानीलाई कोठामा थुनेर उक्त दुव्र्यवहार गरिएको थियो । छिमेकी सेतीमाया स्याङ्गतानकी १० वर्षिया नातिनीको विरामी भएर कपाल झर्न थालेपछि धामी बोलाएर आशन राख्दा दुवै देवरानी जेठानीको नाम बकेपछि धामीको आदेशमा उक्त दुर्व्यवहार  गरिएको थियो । पिडितले जिल्ला प्रशासन कार्यालयमा कारवाहिका लागि उजुरी गरेका छन । यसरी हुने गरेका हिंसाहरु अधिकांश गाउँँमा हुने गरेका सुन्न र पढन पाइन्छ ।
हिजो भरर्खरै मिर्जापुर गा.वि.स. वडा नं.९ की ३५ बर्षीया सीतादेवी तेलीलाइ गाउकै राधा शाह, मनु शाह, अनिलाल शाह र छवीलाल शाहले बोक्सीको आरोपमा निर्घात रुपमा कुटपीट गरि गम्भीर घाइते बनाएका छन् । घाइते सीतादेवीलाइ पोखरिया अस्पतालमा उपचार पछि थप उपचारको लागि बिरगंजको नारायणी अस्पतालमा पु¥याइएको छ । बोक्सी आरोपित सीतादेवीको श्रीमान र एक छोरा रोजगारको लागि भारतमा छन भने सीतादेवी कान्छाछोरा संग रहदै आएकी हुन ।
कँहि सोझा सिधा देखेर, कँहि एकल विधवा देखेर, कँहि व्यक्तिगत रिसईविका कारण महिलामाथि २१ औ शताब्दिको युगमा पनि बोक्सीको आरोपमा महिलामाथि क्रुर हिंसा हुने गरेका छन । महिलामाथि हुने गरेका यो हिंसालाई अन्त्यगर्न बोक्सी भन्ने कुरा नै हुँदैहुन्न भनेर चेतना जगाउन बोक्सीको आरोप लगाउने र हिंसागर्नेलाई कानुनमै किटेर कडाभन्दा कडा सजाय तोकिनु पर्दछ । गाउँ दुरदराजका महिलामाथि बोक्सीको आरोपमा सिस्नोले हानिदा, फलामको चिम्टा तताएर डामिदा आम महिला अधिकारकर्मी मानवअधिकारकर्मीलाई मनभित्र दुख्नु पर्दछ । नँया संविधान बनाउन लागेका महिला सभासद्लाई छुनुपर्दछ । संविधानका धारा उपधारामा यस्ता हिंसाजनक शब्दहरुलाई नै हटाइनु पर्दछ । नँया नेपालको नँया संविधानले हिंसा गर्नेलाई दण्डित गरिनु पर्दछ । महिला हिंसा मुक्त गाउँ समाज र मुलुक बनाउनु पर्दछ, अनिमात्र नँया नेपालको खुला आकाश र धर्तिमा हिंसामुक्त भएर महिलाले बाँच्न पाउनेछन ।

mamina.stha@gmail.com

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१