शिक्षण अस्पताल महाराजगञ्जका एक कर्मचारीमा पनि कोरोना संक्रमण !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७७, शनिबार ०५:१३

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

दाङ तुलसीपुर-७ घर भएका शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यसअघि उपचारको क्रममा शिक्षण अस्पतालमा रहेकी कपिलबस्तुकी ६ वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण भएको थियो ।

शिक्षण अस्पतालमा कार्यरत ती कर्मचारी नियमित काममा रहेका थिए । संक्रमित बालिकाको सम्पर्कबाट उनमा कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

शिक्षण अस्पतालमा क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गर्दा ती कर्मचारीमा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि आफ्नो फेसबुकमार्फत ती व्यक्ति दाङका नभएर काठमाडौंको एक अस्पतालमा कार्यरत रहेको जानकारी दिएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कोरोनाको जोखिमलाई भन्दा पनि अस्पताल सञ्चालनलाई जोड दिएकाले जोखिम थप बढेको चिकित्सकसहितका स्वास्थ्यकर्मीले गुनासो गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बेलुकी निकालेको विज्ञप्तिमा दाङको तुलसीपुरका तीनजना पुरुषमा कोरोना भाइरसको संक्रमण पाइएको जनाएको थियो ।

शिक्षण अस्पताल प्रशासनले फ्रन्टलाइनमा काम गर्ने चिकित्सकसहित स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सतर्कता अपनाउन ढिला गरेको छ ।

प्रशासनले दैनिक हजारौँको आवत जावत हुने महाराजगञ्ज अस्पतालमा स्वास्थ्य सतर्कतामा ध्यान नदिँदा काठमाडौं उपत्यका नै जोखिममा परेको छ । संक्रमित बालिका र कर्मचारीको सम्पर्कमा आएका व्यक्तिमा अबको १० दिनपछि पनि पिसिआर पोजेटिभ देखिने सम्भावना हुन्छ ।

तर प्रशासनले हिजो संक्रमित बालिकाको सम्पर्कमा आएका चिकित्सक, नर्स लगायत अन्य कर्मचारीको पिसिआर परीक्षण गरेपछि सम्पर्कमै आएकाहरुमध्ये केहीलाई काम लगाएको गुनासो छ ।

शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सक भन्छन्, ‘हामी हजारौँ कर्मचारी नै छौँ होला । यहाँबाट काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा एउटै गाडीबाट जानुपर्छ । हामी जहाँ जहाँ जान्छौँ , त्यहाँ त्यहाँ जोखिम हुने नै भयो ।’

अस्पतालले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुनै प्रभावकारी काम नगरेकाे तथा आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गरे पनि अन्य स्वास्थ्य सुरक्षामा ध्यान नदिएको एक कर्मचारी बताउँछन् ।

शिक्षण अस्पतालले कोरोना व्यवस्थापन समिति भने बनाएको छ । तर अत्यावश्यक भन्दा अन्य सेवाहरु सञ्चालनमा रोक लगाउन समेत सकेको छैन । डा.सन्तकुमार दास नेतृत्वमा व्यवस्थापन समिति बनाइएको छ ।

निजी अस्पतालहरु बन्द भएकाले शल्यक्रिया गर्ने बिरामीलाई चिकित्सकहरुले शिक्षण अस्पताल लगेर गर्ने गर्दा पनि समस्या भएको छ । प्रशासनका एक अधिकृत भन्छन्, ‘चिकित्सकहरुले नै हामीले काम गर्छौँ भन्नुहुन्छ । अत्यावश्यक नभए पनि अहिले शल्यक्रियाका लागि उहाँहरुले काम गर्ने निजी अस्पताल र क्लिनिकमा जाने बिरामी यहाँ ल्याएर उपचार गर्ने गरेको पाइएको छ ।’

अस्पताल प्रशासनले पनि स्वास्थ्य जोखिम नहेरेर ओपिडी लगायतका सबै सेवा सुचारु गर्दा अस्पतालमा पुग्ने बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक र समग्रमा उपत्यका नै थप जोखिममा पर्ने देखिएको छ ।

बिहीबार न्युरो वार्डमा भर्ना भएकी कपिलबस्तुकी ६ वर्षीया बालिकाको उपचारमा संलग्न चिकित्सकसहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

चिकित्सक संघ, नर्सिङ संघ लगायतले पनि स्वास्थ्य कर्मीको अवस्थाका बारेमा कुनै चासो नलिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको गुनासो छ ।

देशैभर शुक्रबार बेलुकीसम्म २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१