बजेटको मोडालिटी परिवर्तन गर्न पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७७, मंगलवार ०५:२४

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेटको मोडालिटी परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा पूर्वप्रधानमन्त्री भट्टराईले आगामी बजेटमा व्यापक परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् । उनले कोरोना भाइरसको रोकथामका लागि अपनाइएको उपायबाट अर्थतन्त्रमा कति असर पार्छ भन्ने विषयमा वस्तुसंगत ढंगले अध्ययन गर्नुपर्ने र बजेटले त्यसलाई सुधार गर्न जोड दिनुपर्ने बताए ।

अर्थतन्त्रको समग्र रुपान्तरणका लागि रोजगारी अभिवृद्धि गर्ने र उत्पादन बढाउने क्षेत्रलाई प्राथमिकता दिने र भैपरी अवस्थामा राहत वितरण गर्नका लागि सबै नागरिकको अभिलेखीकरण गर्ने विषयमा बजेटले जोड दिनुपर्ने डा. भट्टराईले बताए । कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधार र सामाजिक पूर्वाधारको कार्यक्रमको कार्यान्वयन एवं शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधारमा लगानी वृद्धि गर्ने गरी बजेट आवश्यक रहेको बताए ।

यस्तै, कोरोना भाइरस महामारीबाट सिर्जित आर्थिक स्थितिलाई माथि उकास्न स्वरोजगारलाई व्यवस्थित बनाउने र साना, मझौला तथा घरेलु उद्योगलाई प्राथमिकता दिनुपर्ने भट्टराईले बताए । यसबाहेक बजेटले आर्थिक विकासमा राज्यको भूमिका, निजी क्षेत्रको भूमिका र बजारको भूमिकालाई समेत स्पस्ट पार्नुपर्ने सुझाव दिए । शिक्षा र स्वास्थ्यमा सरकारको लगानी रहने र औद्योगिक क्षेत्रमा निजी क्षेत्रको लगानी रहने गरी व्यवस्था गर्नुपर्ने बताए ।

यस्तै, पछिल्लो तीन वर्ष यता बाह्य लगानी आउन नसकेको अवस्थामा नेपालको अर्थतन्त्रलाई भारत र चीनसँग जोडेर एफडिआई भित्र्याउने वातावरण बनाउनुपर्नेमा डा.भट्टराईले जोड दिए । अर्थतन्त्रको गुणात्मक विकासका लागि भौतिक पूर्वाधार र समाजिक पूर्वाधारका कार्यक्रमहरुलाई व्यापक ढंगले अगाडि बढाउनुपर्ने भट्टराईले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१