नेपाल साल्ट ट्रेडिङ कार्यालय सिञ्जाबाट गुणस्तरहीन नुन वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ बैशाख २०७७, सोमबार ०५:१७

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा यहाँको हिमा गाउँपालिकाले नेपाल साल्ट ट्रेडिङमार्फत नागरिकलाई बाँडेको नुन मिति नाघेको भेटिएपछि स्थानीयवासीबाट चर्को आलोचना तथा विरोध भएको छ ।

नेपाल साल्ट ट्रेडिङ कार्यालय सिञ्जा डिपोबाट वितरण गरेको नुन सन् २०१६ र २०१७ को भएको भन्दै विरोध भएपछि स्थानीय प्रशासनले तीन दिनमा गुणस्तरबारे जानकारी दिन साल्ट ट्रेडिङलाई अन्तिम चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाले विज्ञप्ति जारी गरी वितरित नुनको गुणस्तरण सम्बन्धमा साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड जुम्लालाई लेखिएको पत्रमा हिमा गाउँपालिकाले वितरण गरेको नुनको जिल्ला प्रहरी कार्यालयको बड्की र जुगाँड प्रहरी चौकीको टोलीले अनुगमन गरेको र दुई घरमा नुनको प्याकेट हेर्दा दुई वर्षसम्म नुन प्रयोग गर्न उपयुक्त हुने उल्लेख भएको तर सन् २०१६ र २०१७ मा उत्पादित नुन रहेको भेटिएको जानकारी गरिएको छ ।

अर्को व्यवस्था नभएसम्म नुन वितरण नगर्नु भन्दै गाउँपालिकालाई बोधार्थ दिइएको छ । यसैगरी वितरित नुनको गुणस्तरको आधिकारिकता सम्बन्धमा नेपाल साल्ट ट्रेडिङ नेपालगञ्जलाई समेत बोधार्थ दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयको सामाजिक सञ्जालमा राखिएको चेतावनीसहितको पत्रमा भनिएको छ, ‘साल्ट ट्रेडिङमार्फत गाउँपालिकामा बाँडिएको नुनले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्छ या गर्दैन ? वितरित नुनका कारणले सार्वजनिक शान्ति सुरक्षामा समेत खलल पु¥याउन सक्ने सम्भावना देखिएकाले नुन वितरणको आधिकारिक सुनिश्चितता गर्ने जिम्मेवारी त्यहाँ कार्यालयलाई नै भएकाले तथ्य खुलाई पत्र प्राप्त भएको तीन दिनभित्र लिखित जानकारी दिन आदेश गरिएको छ ।’

यसैगरी प्रशासनले गृह मन्त्रालय शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शााखालाई पनि बोधार्थ दिएको छ ।
हिमा गाउँपालिका–१ बड्की निवासी प्रतिभा शाहीले जिल्ला प्रशासन कार्यालयलाई मिति छानबिन गरी पाऊ भन्दै लेखेको निवेदन सामाजिक सञ्जालमा भाइरल भएको छ ।

‘सामाजिक सञ्जालमा व्यापकरूपमा गुनासो आएपछि स्थानीय प्रशासनलाई हामीले सोधेका थियौँ’ प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन्, ‘कुनै आधिकारिक मुद्दा स्थानीय प्रशासनमा दर्ता नभए पनि जनताको गुनासोका विषयमा के भएको भन्ने विषयमा ‘एक्सन’ लिएको र प्रशासनले साल्ट ट्रेडिङलाई लेखेको पत्र नै आधिकारिक हो ।’

साल्ट ट्रेडिङ जुम्लाका निमित्त कार्यालय प्रमुख खगेन्द्रबहादुर मल्लले गाउँपालिकालाई पत्र लेखेर प्रतिक्रिया दिएका छन् । साल्ट ट्रेडिङले लेखेको पत्रमा ५८५ क्विन्टल नुन हिमा गाउँपालिकालाई उपलब्ध गराइएको र केही वडामा केही परिमाण सन् २०१६ र २०१७ को वितरण भएको जानकारी आएकामा उपभोक्तालाई शङ्का लागेमा खाद्य प्रविधि तथा गुणस्तर विभागमा ल्याब टेष्ट गर्न सकिने उल्लेख छ ।

यता हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले जनतालाई हरेक घरधुरीमा २५ केजी नुन वितरण गर्ने निर्णयानुसार वितरण गरिएको जानकारी र्दिए । ‘कार्यपालिकाले गरेको निर्णय हामीले कार्यान्वयन गरेका हौँ ।’ तर कस्तो नुन भन्ने विषयमा साल्टट्रेडिङको जिम्मा भएकाले गुणस्तर नभएमा फिर्ता गर्न सकिनेछ,’ उनले भने ।

यसैगरी गाउँपालिकाले नुनको साथमा गाउँपालिकाका सबै घरधुरीलाई ३० केजी चामलसमेत वितरण गरेको उनले बताए । स्थानीयवासीले भने आपतको समयमा गाउँपालिकाले राहत दिनु निकै राम्रो भएको तर गुणस्तरीय नुन हुनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१