कांग्रेस नेतालाई संखुवासभामा सहायता विरतणमा अबरोध, सीडीओले राेके हेलिकप्टर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७६, आईतवार ०५:४६

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद दीपक खड्कालाई गृहजिल्ला संखुवासभामा सहायता तथा राहत सामग्री लैजान स्थानीय प्रशासनले रोक लगाएको छ ।

राहत सामग्री लिएर संखुवासभा जान लागेका बेला स्थानीय प्रशासनले निषेध गरेको नेता खड्काले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले स्वीकृति दिनुपर्ने भन्दै सत्तारुढ दलको निर्देशनमा राहत सामग्री लैजान अवरोध गरिएको उनले बताए ।

महासंकटको बेला जनताप्रतिको आफ्नो उत्तरदायित्व निर्वाह गर्न खोज्दा पनि राजनीतिक पूर्वाग्रह राखेर जनताको सेवा गर्न नदिनु घृणित र निन्दनीय भएको नेता खड्काले जनाएका छन् ।

उनले जनतालाई सेवा गर्न अवरोध गर्नेहरूको संखुवासभाली जनताले हिसाब किताब राख्ने चेतावनी पनि दिए ।

कांग्रेस नेता खड्काले राहत सामग्री लैजानका लागि केहीदिनदेखि पटक–पटक आग्रह गर्दा पनि प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले स्वीकृत नदिएको जानकारी दिए ।

प्रजिअ दुलालले राजनीतिक विवाद हुनसक्ने भन्दै राहत सामग्री लैजान नमिल्ने जवाफ दिने गरेको नेता खड्काले बताए ।

यस बारेमा बुझ्न खोज्दा प्रजिअ दुलालले हेलिकोप्टरको बारेमा आफूले अनुमति दिन नसक्ने बताए ।

खड्काले हेलिकोप्टरमार्फत् १९८ थान पीपीई, ६० लिटर सेनीटाइजर, ६ हजार थान मास्क, १३ सय थान पञ्जा संखुवासभा लैजाने तयारी गरेका छन् ।

विपदका बेला जनतालाई राजनीतिभन्दा माथि उठेर सेवा गर्नुपर्नेमा सरकारले गर्न नसकेको काम व्यक्तिगत रुपमा गर्न खोज्दा अवरोध हुन निन्दनीय भएको खड्काले बताए ।

उनले कोरोना भाइरसको संक्रमण फैलिन थालेदेखि नै सहयोग र सेवाका कामलाई तिव्रता दिएका छन् ।

नेता खड्काले केन्द्रीय राहत कोषमा पाँच लाख दिएका छन् । काठमाडौमा रहेका संखुवासभाका बासिन्दालाई कुनै अफ्ठ्यारो परेमा सम्पर्क गर्न सार्वजनिक आह्वान गरेका छन् ।

उनले समस्यामा परेकाहरुलाई कोठा कोठामा पुगेर सहयोग गर्ने, जिल्लाका धेरै ठाउँमा हात धुनका लागि चोक चोकमा पानी ट्यांकी, सावुन वितरण गर्ने लगायतका कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१