काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा अध्यक्ष प्रचण्डले कोभिड–१९ को उपचार र रोकथामका लागि एक संयन्त्र बनाउन गरेको प्रस्ताव खारेज गर्न माग गरेका छन् । सेक्युरिटि प्रिन्टङ्ग प्रेस खरिदमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बाँस्कोटाले सामाजिक सञ्जालमा शुक्रबार एक पोस्ट गर्दै यस्तो माग गरेका हुन् । बिहिबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाको संक्रमणबाट देशलाई बचाउन प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा एउटा सर्वपक्षीय संयन्त्र बनाउनु पर्ने प्रस्ताव गरेका थिए ।
बास्कोटाले तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार भएको बताउँदै सत्तापक्ष र प्रतिपक्ष सबै कोरना विरुद्ध अहोरात्र हातेमालो साथ कार्यरत रहेकोमा संयन्त्रलाई संविधानले नचिन्ने उल्लेख गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन्, “अनिसँगै स्वास्थ्यकर्मी, सेना, पुलिस, कर्मचारी र नागरिक युद्धमोर्चा मै । तब संविधानले नचिन्ने उच्चस्तरीय सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ? ठाडै खारेज गर, सरकार ।”
प्रतिक्रिया