मेडिकल उपकरण कालोबजारी गर्ने अग्रवालको कनेक्सन चौधरी ग्रुपसम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०७६, बुधबार ०५:५०

काठमाडौं। सोमबार सरकारलाई केही थान मेडिकल सामग्री हस्तान्तरण गरेपछि नर्भिक अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरीले ट्वीटमा बडो आदर्श छाँटेर लेखे–‘नर्भिकले आज नेपाल सरकारलाई १०० सेट पीपीई हस्तान्तरण गरेपछि एक पत्रकार मित्रले प्रतिसेट कति पर्छ भनेर सोधे र म अलमलमा परें । खरिद मूल्य ३,३०० भनौं कि, भाडामात्रै १, ३२० पनि जोडी ४,६२० भनौं या बजारमा १५, ००० मा बिक्री भइरहेको मूल्य भनौं ।’

बसन्त चौधरीले यस्तो लेखेको २४ घन्टा नबित्दै मंगलबार चौधरी ग्रुपका संस्थापक विनोद चौधरीले स्थापना गरेको नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष तथा जगदम्बा र शंकर ग्रुपका संचालक सुलभ अग्रवाल कूटनीतिक नियोगका कर्मचारी वा राजदूतहरुले प्रयोग गर्ने निलो प्लेटको गाडीमा मेडिकल उपकरण थर्मोगन कालोबजारी गर्दागर्दै पक्राउ परे । लक्ष्मणबाबु भवन नक्सालमा रहेको जगदम्बाको गोदाममा चीनको ग्वाङ्झाओबाट चैत २० गते विमान चार्टर गरी ल्याइएका मेडिकल उपकरण थर्मोगन, एन नाइन फाइभ मास्कहरु राखेर कालोबजारी गर्दैआएका सुलभ अग्रवाललाई प्रहरीले ग्राहक बनेरै पक्राउ गर्न सफल भएको थियो । पक्राउ गर्नगएको प्रहरीलाई उनले आफू किर्गिस्थानको अवैतनिक बाणिज्यदूत भन्दै तर्साएका थिए । तर प्रहरीले कन्सुलर भएर कालोबजारी गर्ने भन्दै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अग्रवालले थर्मोगनको १६ हजार रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेका थिए भने मास्कको ७ सय रुपैयाँमा बिक्री गरेका थिए । नेपाल रेडक्रस सोसाइटीले थर्मोगन खोजीका लागि जाँदा त्रिपुरेश्वरको एक सर्जिकलले २२ हजार रुपैयाँमा लिने भए ल्याइदिने भनेका थिए । अनेरास्ववियुका नेता समिक बडालले अग्रवालहरुले २२ हजार रुपैयाँमा थर्मोगन बिक्री गरी महामारीमा कमाउ धन्दा संचालन गरेको आरोप लगाएका छन् । महामारीमा कमाउधन्दा गर्ने सुलभ अग्रवाल र उनका भाइ साहिल अग्रवालका अलावा दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न पनि उनले माग गरेका छन् ।

सुलभ अग्रवालको कनेक्सन चौधरी ग्रुपसँग

चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान ल्याउन चैत २० मा चीनको ग्वाङ्झावका लागि वाइडबडी विमान चार्टर गरिएको थियो । अरु निजी मेडिकल सप्लायर्सले सामान ल्याउन चार्टर गर्न खोज्दा निगमले नदिइरहेको अवस्थामा चौधरी ग्रुपले उक्त जहाज चार्टर गरेको थियो । अरु ब्यापारीका मेडिकल सामान पनि ल्याउने भनेर लगिए पनि जहाजले चौधरी ग्रुप र जगदम्बाका साहिल अग्रवाल र सुलभ अग्रवालका सामान मात्र लिएर आएको थियो ।

चौधरी ग्रुपले त्यही सामानमध्येका केही सामान सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका थिए । तर उक्त विमानमा आएको ठूलो परिमाणको सामान चौधरी फाउन्डेसनले कहाँ लग्यो, के कति परिणाममा के के सामान ल्याइएको थियो, त्यसको पारदर्शी विवरण सरोकारवाला निकायले माग्ने हो भने कालोबजारीमा चौधरी ग्रुपसमेतको संलग्नता खुल्ने एक मेडिकल उपकरण सप्लायर्स बताउँछन् । निगमको बिमानमा चैत २० मा ल्याइएका थर्मो गन, मास्क लगायतका मेडिकल सामग्री जगदम्बाले कालोबजारी गर्दैआएको थियो । जगदम्बालाई नै चौधरी ग्रुपले त्यो दिन ल्याइएका सामान कालोबजारीमा बिक्री गर्न दिएको ती सप्लायर्सको आरोप छ ।

चीनबाट चैत २० मा के के सामान ल्याइए त ? यो कुराको खोजी हुँदै जाने हो भने मेडिकल उपकरणको कालोबजारीको लहरो तान्दा पहरो नै आउने भएको छ । यसमा चौधरी ग्रुपसमेत तानिने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१