नेपालमा पहिलोपटक हैजाविरुद्ध खोप अभियान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ भाद्र २०७१, शुक्रबार १६:१९

रौतहट,  २७ भाद्र  । नेपाल मै पहिलोपटक हैजा तथा झाडापखालाबाट प्रभावित बनेको गाउँमा सरकारले खोप अभियान सञ्चालन गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चन्द्रपुर नगरपालिका–२ गैंडाटारमा शुक्रबार र शनिबार शिविर सञ्चालन गरेर हैजा रोगविरुद्ध विशेष खोप कार्यक्रम सञ्चालन गरेको हो ।

केही समयअघि हैजाको महामारी भएको प्रभावित गाउँमा विशेष अभियानअन्तर्गत ‘सान्कोला’ नामक भ्याक्सिन खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख राजकिशोर पण्डितले बताउनुभयो ।

करिब १० हजार ५०० जनालाई सो भ्याक्सिन खुवाउने कार्यक्रम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत रेशम लामिछानेले बताउनुभएको छ ।

शिविर रौतहटको गैंडाटारस्थित चिसापानी, महादेवडाँडा, सुत्नेखोला, स्यालडाँडा, रतौली गाउँ र सिमानामा रहेको मकवानपुर जिल्लाको बाघफाल, धियाल, स्वास्ती, विजयबस्ती, रजुवा, नयाँबस्तीमा दुई दिन शिविर रहने जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

हैजाविरुद्धको भ्याक्सिन प्रयोग गरेपछि तीनदेखि पाँच वर्षसम्म हैजा नलाग्ने र अफ्रिकी मुलुकहरुमा यो खोपको प्रयोग पाँच वर्षअघि नै भइसकेको महाशाखाका अधिकृत लामिछानेको भनाइ छ ।

गर्भवती महिला, दीर्घरोगी, सिकिस्त बिरामीबाहेक एक वर्षमाथि उमेरका सबैले सो खोप प्रयोग गर्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

गत वैशाख १७ गतेदेखि रौतहटको गैंडाटारमा हैजा तथा झाडापखालाको महामारी फैलिँदा एक हजार ५०० भन्दा बढी मानिस बिरामी परेका थिए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१