अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७६, शुक्रबार ०५:२०

काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ। वैशाख १८ गतेसम्मलाई भेला र भीडभाडमा निरुत्साहन गरिएको हो।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम/हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।

यसको अनुगमन गृह, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछन्। साथै प्रदेश सरकार र स्थानीय तहले पनि अनुगमन गर्नेछन्।

बैठकले सांस्कृतिक एवम् सामाजिक गतिविधिसँग सम्बन्धित भोजभतेर नगर्न आग्रह गर्दै मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ।

यस्तै सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न/ नगराउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ। नागरिकलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध गरिएको छ। यसको अनुगमन गृह र संस्कृति मन्त्रालयले गर्नेछन्।

बढी जमघट हुने सार्वजनिक महत्वका स्थलहरू स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) ले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाइ एवं डिसइन्फेक्सन गर्ने भएका छन्। यसको अनुगमन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले गर्नेछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१