चीनको ऊहानबाट फैलन सुरु भएको कोरोना भाइरस कोभिड –१९ अब संसारको ७६ देशमा फैलिसकेको छ । नेपालमा यसको संक्रमित अहिलेसम्म नदेखिएको भनिए पनि छिमेकी राष्ट्र भारतमा २९ जनामा यो संक्रमणको पुष्टि भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको पहिलो संक्रमणको पुष्टि डिसेम्बर ३१ सन् २०१९ मा भएको थियो । तीब्र रुपमा भाइरस फैलिएपछि ३० जनवरी २०२० मा यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषित गरिएको थियो ।
तर सुरुवाती समयमा यो भाइरसबारे खासै जानकारी थिएन त्यसैकारण यसको उपचार पनि राम्रोसँग हुन सकेन । अहिलेसम्म यो भाइरसबाट बच्नका लागि कुनै खोप पनि बन्न सकेको छैन । यो भाइरसबारे र यसको संक्रमणको तरिकाबारे जानकारी त उपलब्ध छन् तर अहिलेसम्म यसको कुनै उपचार भेट्न सकिएको छैन ।
विश्व स्वास्थ्य संगठनसमेत विभिन्न देशका डाक्टर यो रोगसँग लड्नका लागि खोपको खोजीकार्यमा जुटेका छन् तर के यसको खोप चाँडै बन्न सक्ला ?
कहिलेसम्म बन्ला खोप ?
यो भाइरसमाथि अनुसन्धान गरिरहेका डाक्टरले यसको खोप बनाइसकेको र जनावरमा यसको परीक्षण सुरु गरिसकिएको दाबी गरेका छन् । यदि सबै कुरा सही रहे यसै वर्ष मानिसमा पनि यसको परीक्षण सुरु गरिने सम्भावना छ ।
कोरोना भाइरसका लागि खोप बनाएको भन्दै वैज्ञानिकहरु खुसी भएपनि ठूलो परिमाणमा यसको उत्पादन सुरु हुन अहिले समय लाग्नेछ ।
यसको अर्थ यो हो कि अर्को वर्ष अघि यो खोप बजारमा उपलब्ध हुने नहुने अहिले नै निश्चित छैन ।
कोरोना भाइरसका लागि निकै तीब्र गतीमा काम चलिरहेको छ र खोप बनाउनका लागि विभिन्न बाटो अपनाइँदैछ । यस्तोमा यसको खोपको विषयमा अहिले नै कुनै ग्यारेन्टी छैन ।
अहिलेसम्म चार प्रकारका कोरोना भाइरस पाइएका छन् जसले मानिसहरुलाई संक्रमित बनाइरहेका छन् । यी भाइरसका कारण रुघा–खोकी लाग्ने बेला देखिने लक्षण देखिन्छ र यसका लागि अहिलेसम्म कुनै खोप छैन ।
खोप कसरी बन्छ ?
मानिसको शरीरमा रगतमा ह्वाईट ब्लड सेल हुन्छ जुन उसको रोग प्रतिरोधी तन्त्रको हिस्सा हुन्छ ।
शरीरलाई क्षती नपुर्याई खोपमार्फत् शरीरमा अत्यधिक कम मात्रामा भाइरस वा ब्याक्टेरिया हालिन्छ । जब शरीरको रक्षा तन्त्रले यो भाइरस वा ब्याक्टेरियालाई पहिचान गर्छ तब शरीर यसविरुद्ध लड्न सिक्छ ।
त्यसपछि यदि मानिसले साँच्चै नै उक्त भाइरस वा ब्याक्टेरियाको सामना गर्छ तब उसलाई संक्रमणबाट कसरी बच्ने जानकारी हुन्छ । दशकौंदेखि भाइरससँग लड्नका लागि जुन खोप बने त्यसमा सक्कली भाइरसको नै प्रयोग हुँदै आएको छ ।
मिजल्स (दादुरा), मम्प्स र रुबेला (एमएमआर) को खोप बनाउनका लागि यस्ता कमजोर भाइरसको प्रयोग गरिन्छ जसले संक्रमण गर्न सक्दैनन् । साथै फ्लूको खोपमा पनि यसको भाइरस नै प्रयोग हुन्छ ।
तर कोरोना भाइरसमा अहिले जुन नयाँ खोप बनाइँदैछ त्यसका लागि नयाँ तरिकाको प्रयोग भइरहेको छ र जसको अहिले कम नै परीक्षण हुन सकेको छ । नयाँ कोरोना भाइरस को जेनेटिक कोड अब वैज्ञानिकलाई थाहा भइसकेको छ र अब हामीसँग खोप बनाउनका लागि एउटा पूरा ब्लूप्रिन्ट तयार छ ।
खोप बनाउने केही डाक्टर कोरोना भाइरसको जेनेटिक कोडबाट केही हिस्सा लिएर त्यसको नयाँ खोप तयार गर्ने कोसिसमा छन् ।
कति डाक्टर यो भाइरसको मूल जेनेटिक कोडको प्रयोग गरिरहेका छन् जुन एक पटक शरीरमा प्रवेश भएपछि भाइरल प्रोटिन बनाउँछ र शरीरले यो भाइरसबाट लड्न सिक्नेछ ।
जेम्स गेलहर, स्वास्थ्य तथा विज्ञान संवाददाता, बीबीसी
प्रतिक्रिया