काठमाण्डौं । चर्चित उद्योगी व्यवसायी अजेयराज सुमार्गीले अर्थमन्त्री परिर्वतनका लागि आफुले कुनै पनि चलखेल नगरेको बताएका छन् । विभिन्न पत्रपत्रिका र अनलाइन समाचारले प्रधानमन्त्रीलाई अप्ठारोमा पारेर अर्थमन्त्री परिवर्तन गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उस्काएको भन्ने समाचारमा कुनै पनि सत्यता नरहेको उनले स्पष्ट पारे ।
व्यवसायी सुमार्गीले आफु दिगो र स्थिर सरकारको पक्षमा रहेको बताए । वर्तमान सरकारलाई आफनो पूर्ण सहयोग र समर्थन रहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आर्थिक संवृद्धिको सपनालाई यर्थातमा परिणत गर्न आफनो जस्तोसुकै सहयोग रहने प्रतिवद्धता जनाए ।
उनले भने, विभिन्न पत्रपत्रिका र अनलाइनमा समाचार आए जस्तो प्रधानमन्त्रीलाई अप्ठारोमा पारेर अर्थमन्त्री हटाउने र त्यसका लागि अर्का अध्यक्षलाई उचालेको भन्ने समाचारको तथ्य पुष्टि गर्न चुनौती दिन्छु । प्रधानमन्त्री र आफुविच फाटो ल्याउने प्रयास वारम्वार भइरहेको बताउँदै उनले भने मेरा लागि अध्यक्ष दाहाल र प्रधानमन्त्री ओली बराबर हुनुहुन्छ ।
म दुवै जनालाई सहयोग गर्न तयार छुु, त्यसमा आशंका नगर्न पनि आग्रह गर्दछु । आर्थिक रुपमा संवृद्ध नेपालको पक्षपाती हुँ, दिगो सरकार चाहिन्छ, त्यसपछि मात्र उद्योग, व्यवसाय फष्टाउँछ, त्यसका लागि वर्तमान सरकारलाई पूर्ण समर्थन छ । मेरो एक मात्र ध्येय मुलुकमा धेरै भन्दा धेरै वैदेशिक लगानी भित्राउने, उद्योग धन्दा सञ्चालन गर्ने, विकराल अवस्थामा रहेको वेरोजगारी समस्या हल गर्ने हो, त्यसका लागि सरकारको साथ आफुलाई चाँहिएको पनि उनले बताए ।
हाम्रो जस्तो देशका लागि वैदेशिक लगानी अपरिहार्य रहेको वताउँदै व्यवसायी सुमार्गीले भने त्यसका लागि सरकारले कानुनी प्रावधानलाई सहज बनाउनु पर्छ। वैदेशिक लगानी ल्याउन र सरकारलाई सहयोग गर्न पनि आफु तयार रहेको उनले बताए ।
काठमाण्डौ टेलिभिजन डट कमबाट
प्रतिक्रिया