मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण (इन्फेन्सन) नै पिसाब संक्रमण हो।
पिसाब संक्रमण यौनअंगको सरसफाई नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुनेगर्छ।
मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या भयो वा अवरोध भयो भने पनि पिसाब जमेर संक्रमण हुनसक्छ।
उदाहरणका लागि एउटा तालको पानी आउनेजाने भएमा स्वच्छ रहन्छ, यदि त्यो पानी कहीँ जान पाएन वा बाटो अवरोध भएमा पानी जमेर लेउ लाग्छ। त्यस्तै पिसाब पनि सजिलै बाहिर जान नपाएमा संक्रमण हुन्छ।
पिसाब संक्रमण सबै उमेर समूहका मानिसलाई हुनसक्छ। कुनै बच्चालाई आमाकै गर्भमा रहँदा शरीरको बनोट बिग्रेर आएको छ भने पनि असर पार्छ।
पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ, पिसाब राम्ररी निख्रेको छैन वा पिसाब नली साँघुरो छ भने संक्रमण हुने जोखिम धेरै हुन्छ।
वृद्ध पुरुषहरुमा हुने प्रोस्टेट ग्रन्थीका कारण पिसाब नली साँघुरो हुँदै जाने हुनाले पनि संक्रमण हुन्छ।
पुरुषलाई भन्दा महिलालाई पिसाबको संक्रमण बढी हुने गर्छ। किनकि महिलाको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी संक्रमण पुरुषलाई कम हुन्छ।
महिलामा नली सानो हुने, पिसाब नली, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी संक्रमण छिटो हुने सम्भावना हुन्छ। महिलालाई बाहिरी संक्रमण बढी हुनुको कारणमा कुनै एक नलीमा भएको इन्फेन्सन अर्कोमा सजिलै सर्नु पनि हो।
यस्ता छन् लक्षण
-पिसाब गर्दा पोल्ने,
-घरिघरि पिसाब जान मन लाग्ने,
-पिसाबको धारा मसिनो हुँदै जाने,
-पिसाब गर्दा कोखा दुख्ने,
-पिसाबमा रगत जाने,
-पिसाब नलीबाट पिसाबसँगै पिप देखिने,
-उच्च तापमानको ज्वरो आउने,
-शरीर काप्ने,
-पिसाब गरेपछि पनि तल्लो पेट भारी हुने, दुख्ने,
-बच्चालाई ज्वरो आइरहने, पेट दुख्ने आदि।
माथिका लक्षण देखिएमा पिसाबको संक्रमण भयो कि भनेर चेकजाँच गर्नुपर्छ।
भर्खर विवाह गरेका महिलालाई पनि पिसाब संक्रमण हुने जोखिम उच्च हुन्छ। शारिरीक सम्पर्कमा सक्रिय हुदाँ किटाणु बाहिरबाट भित्र पस्छन् र संक्रमण हुन्छ, जसलाई ‘हनिमुन सिस्टाइटिस’ पनि भनिन्छ। यसका कारण केही महिला अस्पतालमै भर्ना हुनुपर्ने अवस्थासम्म पुग्छन्।
धेरै बेवास्ता गरेमा मिर्गौला नै खराब हुने खतरा बढ्छ। तसर्थ, हरेक ६ महिना वा १ वर्षमा आफ्नो पिसाबको जाँच गर्नुपर्छ। जो बढी जोखिममा छन् उनीहरुले ३–३ महिनामा पिसाब जाँच गरिरहनुपर्छ।
प्रतिक्रिया