शुक्रबार हिन्दूधर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् ।
शिवका केही भक्त भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् ।
शिवरात्रि नशा सेवनको पर्व हो त ? प्रश्न उठ्ने गरेको छ । धर्मशास्त्रहरुका अनुसार शिवरात्रि शिव भगवानको उपासना र आराधनाको लागि महत्त्वपूर्ण पर्व हो । शिव भगवानलाई खुसी पार्न र आफ्ना मनोकामना पूरा गर्न यो पर्व मनाउनुपर्ने मत रहेको छ ।
तर, महाशिवरात्रिमा पशुपति लगायत शिवमन्दिरहरुमा गाँजा, भाङ धतुरो लगायतका नशाको सेवन खुलमखुल्ला रुपमा हुने गरेको छ । यसलाई सबैले सामान्य रुपमा लिने गर्छन् ।
तर प्रश्न उठ्छ, भगवान शिवले नसाको प्रयोग किन गरे ? त्यसको तत्व नबुझी नशाको प्रयोगलाई प्रश्रय दिनु उपयुक्त होला त ? यसका लागि भगवानले किन नशाको सेवन गर्नुभयो भन्ने कुरा थाहा पाउन जरुरी छ । त्यसका लागि धर्मशास्त्रहरुको अध्ययन गर्न जरुरी छ । यहाँ हामी गाजा, भाङ, धतुरो लगायतको प्रयोग भगवान शिव जीले किन गर्नुभयो भन्ने कुराको धार्मिक मान्यता प्रस्तुत गर्न गइरहेका छौं ।
भगवान शिव ध्यान मुद्रामा बस्नुहुन्छ । हिमालयमा ध्यान मुद्रामा बसेका शिवले ध्यानलाई भंगहुन नदिन र एकाग्र बनाउनका लागि नशा सेवन गरेको मान्यता छ ।
वेदको मत अनुसार समुन्द्र मन्थनका क्रममा एक थोपा मद्र पर्वतमा खस्यो । त्यसबाट एक रुख उम्रियो । यो रुखको एक रस देवताहरले निकै मनपराए । पछि भगवान शिवले यसलाई हिमालयमा लिएर आए किनकी सबैले यसलाई सेवन गर्न सकुन् ।
पुराणका अनुसार समुद्र मन्थनको समयमा अमृतसँगै विष निस्किएको थियो । अमृत त देवताहरुले पिए तर बाँकी रहेको विष कसले पिउने समस्या पर्यो । उक्त विष एक थोपा मात्र पनि जमिनमा वा पृथ्विमा खसेको खण्डमा प्रलय हुने थियो । त्यसपछि देवताहरुले भगवान शिवको आराधना गरे ।
विष शिवजी पिउन तयार भए, र विष पिए पनि । विष पिउनै लाग्दा छेउमा रहेकी पार्वतीले विष पेटमा नपुगोस् भन्नका लागि भगवान शिवको घाँटी समातिन् र विष भगवान शिवको कण्ठ(घाँटी) मा अड्कियो । त्यसैले भगवान शिवलाई निलकण्ठ पनि भन्ने गरियो ।
विष सेवन गरेपछि भगवान शिवलाई निकै समस्या पर्यो । विषको गर्मीलाई सहन गर्न भगवान शिव कैलाश पर्वत गए । तर पनि उनको पीडा कम भएन त्यसपछि उनको पीडा भुलाउनका लागि देवताहरुले नशाको खोजी गरे र भाङ, धतुरो, गाजाको सेवन गरेपछि भगवान शिवलाई केही राहत भयो ।
प्रतिक्रिया