काठमाडौं । मनमोहन मेमोरियल एक दिवसीय (एमएम) राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । उपाधीका लागि दुई विभागीय टोली नेपाल पुलिस र आर्मी भिड्दै छन् ।
बिहीबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लब विजयी हुँदै फाइनलमा पुग्दा आर्मीले प्रदेश तीनलाई हराएर फाइनलको यात्रा तय गरेको थियो ।
आर्मीले समूह चरणमा एपीएएफलाई १०८ रनले पराजित गरेको थियो भने अर्को खेलमा आयोजक मदनभण्डारी स्पोर्टस क्बलाई १० विकेटले पाखा लगाएको थियो । सेमिफाइनलमा भने आर्मीले प्रदेश तीनलाई ६४ रनले पराजित गर्दै फाइनलमा पुग्यो ।
यस्तै अर्को फाइनल पुगेको टिम नेपाल पुलिस क्लबले समूह चरणमा कर्णाली प्रदेशलाई २६७ रनले पराजित गरेको थियो भने अर्को खेलमा प्रदेश २ लाई ४६ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
सेमिफाइनलमा सुदूरपश्चिमलाई ९९ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । पुलिस मञ्जीत श्रेष्ठको कप्तानीमा रहेको छ भने आर्मी विनोद भण्डारीको कप्तानीमा खेलिरहेको छ ।
पुलिसको टिममा मञ्जीतसँगै सुनिल धमला, अमित श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, अनिल साह, पवन शर्राफ, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, ललित भण्डारी, सागर ढकाल र ललितनारायण राजबंशी रहेका छन् ।
आर्मीको टिममा विनोद भण्डारीसँगै हरिशंकर झा, अनिल मण्डल, हरिबहादुर चौहान, रोहित पौडेल, राजेश पुलामी, भीम शार्की, कुशल मल्ल, बिक्रम सोब, शुसन भारी र सहाब आलम छन् ।
प्रतिक्रिया