‘प्रेममा पर्नुभएको छ, तपाईंले फोनमा गरेका कुरा सरकारले सुन्नेछ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०७६, मंगलवार ०४:३३

राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले नेपाल विशेष सेवा विधेयक अस्वीकार्य रहेको बताएका छन्।

फरक विचार र दलका मान्छेलाई ठाउँको ठाउँ सिध्याउने उद्देश्यले सरकारले यो विधेयक राष्ट्रियसभामा पेश गरेको भन्दै सांसद पन्थले विरोध गरे।

‘फरक विचार, फरक दललाई मात्र होइन आफ्नो पार्टीका फरक विचार राख्नेलाई ठाउँको ठाउँ सिध्याउन यो विधेयक ल्याइएको छ,’ सांसद पन्थले भने, ‘यो विधेयक खतरापूर्ण छ।’

उनले जनताको निजी जीवनमा राज्य सिधैं हावी हुन खोजेको पनि आरोप लगाए।

टेलिफोन कुराकानीदेखि सामाजिक सञ्जालमा हुने कुरा सरकारले सुन्ने पनि उनले तर्क गरे।

‘निजी जीवनमा सरकार सिधैं हावी भयो। श्रीमान्-श्रीमतीबीच हुने सबै कुरा अब सरकारले सुन्नेछ/हेर्नेछ,’ उनले भने, ‘बिहे गर्ने उमेरका भाइ बहिनीहरू प्रेममा पर्नुभएको छ र टेलिफोनमा कुराकानी गर्नुहुन्छ भने यो सरकारले सुन्नेछ।’

उनले समाचार लेख्ने पत्रकार पनि होसियार हुनुपर्ने बेला आएको बताए। ‘यो विधेयकले सेन्सरसिपलाई बढवा दिन्छ,’ उनले भने, ‘म्यासेज लेख्दा वा समाचार पठाउँदा होस् पुर्‍याउनुपर्छ। किनभने सम्पादकले भन्दा पहिले सरकारले हेर्छ।’

विधेयकले नागरिकको मौलिक हक तथा स्वतन्त्रता खोजेको पनि उनले तर्क गरे।

‘यो संविधानविपरीत छ,’ उनले भने।

राष्ट्रिय अनुसन्धान हुँदाहुँदै किन प्रतिजासुसी चाहियो भन्दै उनले प्रश्न गरे।

विधेयकमा उल्लेख भएका अधिकार प्रचलित कानुनमै रहेको पनि उनले बताए।

सांसद पन्थले विरोधको सूचना पनि दर्ता गरेका छन्।

उनीपछि बोलेका अर्थमन्त्री युवराज खतिवडाले विधेयक विरोधको अर्थ नरहेको बताए।

नेपालमा बसेर अरू देशमा हुने जासुसीका लागि यो विधेयक आवश्यक पर्ने उनको तर्क छ।

पन्थले गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको छ।

यो विधेयकमाथि छलफल सुरू भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१