नेकपाका फरार नेताले पीडित बनाएकाहरुले यसरी मुख खोले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ पुष २०७६, शुक्रबार ०४:५५

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर स्थित बालुवाटार जग्गा काण्डको दर्दनाक पक्ष सार्वजनिक भएको छ । नेकपाका नेता गगन पुरीको समूहले बालुवाटारको ५० बिगाहा जति जग्गा कीर्ते कागज गरेर कब्जा गरेका थिए ।

सो जग्गाका बास्तविक हकदार विपन्न सुकुम्वासीहरुले गगनको ठगी र अत्याचार विरुद्ध बोलेका छन् । गगन पुरी गत चुनावमा दमकमा तत्कालीन माओवादीबाट मेयरका उम्मेदवार थिए ।  

दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरुले गगन पुरीको समूहले सरकारी कागजात कीर्ते गरेर आफ्नो जग्गा कसरी लुटे भन्ने वयान गरेका छन् ।

पीडित सञ्जिव मगरले पत्रकार सम्मेलनमा भने– ‘हामी वाल्यलदेखि नै त्यो जग्गामा बसेको हो । पछि बाढीले जग्गा लग्यो र हामी विस्थापित भयौं । रतुवा नदीमा तटवन्ध बनेपछि जग्गा राम्रो भयो, मूल्यवान पनि भयो तर सबै जग्गा कीर्ते गरेर गगन पुरीले कब्जा गरे ।’

गगनसँग आफूहरुले बारम्बार जग्गा फिर्ता मागेको र उनले दिन्छु पनि भनेको तर अहिले फरार भएको पीडितहरुले बताए ।

कीर्ते गरेर जग्गा कब्जा गरेको विषयमा सिआईबीले छानविन गरेर गगन विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि आफूहरुले जग्गा फिर्ता पाउने आशा बढेको उनीहरुले बताए ।

दमक बालुवाटारको जग्गा घोटाला काण्ड नेपालकै सबैभन्दा ठूलो जग्गा कीर्ते काण्ड मानिएको छ । यो कीर्ते काममा संलग्न कर्मचारीहरु कृष्ण भट्टराई र विनोद मण्डल पक्राउ परेका छन् भने गगन पुरी फरार छन् । अन्य केही पूर्व कर्मचारीहरु पनि फरारको सूचीमा छन् । गगन पुरी भारतमा भएको बताइएको छ । भारतबाट उनलाई पक्रेर तत्काल नेपाल ल्याउन पीडितहरुले माग गरेका छन् ।

पीडित बुद्धिमान माझीले पत्रकार सम्मेलनमा सुनाए– ‘गगन पुरी ठूलो नेता हो । हामीलाई धम्काउँछ । उसले मेरो जग्गा खायो ।’

माझीले भने– ‘मेरो जग्गा माग्दा गगनले खोलाले छोडेको जग्गा मेरो हुन्छ, नछोडेको जग्गा तेरो हुन्छ भन्यो ।’

६८ वर्षीय माझी दमकमा ठेला चलाएर खान्छन् । आफ्नो साढे तीन कठ्ठामध्ये १२ धूर मात्र बाँकी रहेको, बाँकी जग्गा गगनले कब्जा गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा मनप्रसाद लिम्बूले बालुवाटारमा आफ्नो परिवारको १३ कठ्ठा जग्गा भएको तर गगनले सो जग्गा कीर्ते कागज बनाएर कब्जा गरी ग्यास उद्योग राख्न कम्पाउण्ड लगाएको बताए ।

अर्का एक पीडितले बताए– ‘अहिलेसम्म गगनको डरले हामी कोही बोल्न सकेका थिएनौं, अब उ नै डराएर भागिसक्यो । अब हामी डराउँदैनौं । गगनको अत्याचार विरुद्ध बोल्छौं ।’

पीडित एकजनाले भने– ‘यो जग्गा काण्डमा गगन एक्लै छैन, उसको ग्याङमा धेरै नेताहरु छ । उनीहरुको समूहले झापा जिल्लाका विभिन्न ठाउँमा सयौं बिगाहा जग्गा कीर्ते गरेर कब्जा गरेको छ ।’

पीडितहरुले बताए अनुसार गगनले कब्जा गरिएका सबै जग्गाको कित्ताकाट गर्न भने सकिरहेका थिएनन् । कित्ताकाट गर्न नसके पनि त्यहाँको जग्गा पछि कित्ताकाट गरिदिन्छु भन्दै धेरैजनालाई बेचेका छन् ।

पीडित सञ्जिव मगरले भने– ‘त्यो जग्गा गगनको होइन । ८८ परिवार सुकुम्वासीको जग्गा हो भन्ने थाहा पाउँदापाउँदै किन्ने, गगनलाई बैना रकम बुझाउनेहरुलाई पनि ठगी र जालसाजीमा मुद्दा चलाइनुपर्छ । यदि उनीहरुलाई गगनले ठगेको हो भने उनीहरुले पनि गगन विरुद्ध उजुरी दिनुपर्छ ।’
यसै बीच प्राप्त एक जानकारी अनुसार यो जग्गा काण्डमा केही दिनभित्रै अदालतमा मुद्दा दर्ता हुँदैछ । यही जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन अगाडि बढाएको छ । 
अब पीडितहरुले सबै राजनीतिक दललाई मागपत्र दिने भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१