घुस लिँदा लिँदै पक्राउ परेका डिएसपी राईलाई भ्रष्टाचार मुद्दामा सफाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७६, मंगलवार ०५:४१

काठमाडौं । घुस लिँदा लिँदै पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्याम कुमार राईले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको आइतबारको इजलाशले डिएसपी राईलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।

डिएसपी राई महानगरीय प्रहरी बौद्धको प्रमुख हुँदा सेवाग्राहीसँग लिएको १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले राईलाई घुस लिँदालिँदै गत असोज १८ गते रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारले गत कात्तिक २८ गते विशेष अदालतमा मुद्दा दर्ता गर्दै राईविरुद्ध १ लाख ४० हजार रुपैयाँ बिगो तथा बिगोअनुसार जरिवाना र १ वर्ष ६ महिनासम्म कैद सजायको मागदाबी गरेको थियो ।

मुद्दा दर्ता भएको दोस्रो दिन नै विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, प्रमोजकुमार श्रेष्ठ वैध र रत्बहादुर बागचन्दको इजलाशले राईलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।

विशेष अदालतको आदेशानुसार राई १ लाख ४० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए ।

न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको दाबी नपुग्ने फैसला सुनाएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१