‘सुशासन’मा परे १० बैंक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७६, बिहीबार ०५:३६

सुशासन कायम राख्नेमा १० वटा बैंकहरु मात्रै परेका छन्। २७ वाणिज्य बैंकमध्ये ९ र ३२ विकास बैंकमध्ये एउटाले मात्रै नेप्सेको ए वर्गका लागि तोकेका शर्तहरु पुरा गरेका छन्।

नेपाल स्टक एक्स्चेन्जले कम्पनीहरुको वर्गीकरण गर्ने क्रममा तोकिएका मापदण्ड (सुशासन) पुरा गरेका कम्पनीहरुलाई ए वर्गमा राख्ने गर्दछ।

आर्थिक वर्ष समापन भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको, क्रेडिट रेटिङबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण कायम गरेको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको लगायत मापदण्ड पूरा गरेका कम्पनीहरु ए वर्गमा पर्दछन्।

ए वर्गमा पर्नका लागि कम्पनीको चुक्ता पुँजी कम्तीमा १ अर्ब भने पुगेको हुनुपर्छ। न्यूनतम चुक्ता पुँजी नै सोभन्दा बढी रहेकाले चुक्ता पूँजीका आधारमा वाणिज्य तथा विकास सबै बैंकहरुको मापदण्ड पुग्दछ।

तर समयमै साधारणसभा नगर्ने, क्रेडिट रेटिङको जानकारी नगराउने र वित्तीय विवरण तोकिएको ढाँचामा राख्न नसकेका कारण अधिकांश वाणिज्य बैंकहरु नै ए वर्गमा पर्न सकेनन्।

‘धितोपत्र सूचीकरण विनियमावलीमा नै कम्पनीको वर्गीकरणका सम्वन्धमा मापदण्ड तोकिएको छ, सो अनुसार मापदण्ड पुगेकालाई नेप्सेले छुट्याउने हो’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने।

नेप्सेले प्रत्येक त्रैमासमा सूचीकृत कम्पनीहरुको वर्गीकरण अद्यावधिक गर्ने गर्दछ। ति कम्पनीहरुलाई मापदण्ड पुरा गरेअनुरुप ए, बि, जी र जेड गरी चार समूहमा वर्गीकरण गर्ने गरिएको छ।

जसअनुसार पूर्ण रुपमा मापदण्ड पुगेकामा सनराइज, माछापुच्छ्रे, ग्लोबल आइएमई, सिटिजन्स, इन्भेष्टमेन्ट, एसबिआई, एनएमबि, एनआइसी एसिया, स्टान्डर्ड चार्टड र मुक्तिनाथ विकास बैंक मात्रै छन्। यी बैंकहरु नेप्सेको ए वर्गमा पर्न सफल भएका छन्।

अरु सबै बैंकहरु जेड वर्गमा परेका छन्। यसअघि नेप्सेले ए वर्गमा सनराइज बैंकलाई मात्रै सूचीकृत गरेको थियो।

बिनियमावलीअनुसार वर्गीकृत संस्थाले उक्त समूहमा पर्नु नपर्ने कारणहरु ३५ दिनभित्र दावी गर्न सक्छन्। सो अनुरुप दावी पुनरावलोकन गर्ने क्रममा संख्या थपिएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१