सरकार र मेडिकल कलेजबीच सहमति, बुधबारबाट अतिरिक्त शुल्क फिर्ता हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७६, बुधबार ०३:५४

काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच सहमति जुटेको छ ।

मंगलबार मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीच दुई बुँदे सहमित भएको हो । जसअनुसार निजी मेडिकल कलेजले बुधबारबाट विद्यार्थीसँग लिएको बढी शूल्क फिर्ता गर्ने सहमति जनाएका छन् ।

शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री पोखरेल सहित सरकारी वार्ता टोली र मेडिकल कलेज सञ्चालकबीच साँझ ८ बजेदेखी बैठक बसेको थियो ।

शुल्कको विषयलाई लिएर मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा थिए । मन्त्रिपरिषद बैठकले नै मेडिकल शिक्षाको शुल्क निर्धारण गर्ने गरेको भएपनि मेडिकल कलेजहरुले विभिन्न बाहानामा विद्यार्थीसँग बढी शुल्क उठाउँदै आएका थिए ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्न थालेपछि सरकारले शुल्कको विषयमा छानविन शुरु गरेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजहरुले विद्यार्थी भर्नामा २ अर्व ८५ करोड १३ लाख १६ हजार २ सय ९७ रुपैयाँ बढी लिएको तथ्यांक सहित कारबाहीका लागि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

सतर्कता केन्द्रको प्रतिवेदन पछि सरकाले मेडिकल कलेजहरुलाई कात्तिक २५ गते १५ दिन भित्र शुल्क फिर्ता गर्न अन्तिम अल्टिमेटम दिएका थिए । तर सरकारको अन्तिम अल्टिमेटम आज (मंसिर १० गते) सकिँदा पनि मेडिकल कलेजहरुले शुल्क फिर्ताको प्रक्रिया शुरु गरेका थिएनन् ।

मेडिकल कलेजहरुले शुल्क फिर्ता नगरेपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले हिजै देखि मेडिकल कलेज सञ्चालक, त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्वविद्यालय लगायतका निकायसँग छलफल शुरु गरेका थिए ।

सरकारले यसअघि नै शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगी मुद्धामा कारबाही अगाडी बढाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१