एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले हालैका दिनमा ३ करोड ३ लाखभन्दा बढी पोस्ट हटाएको जनाएको छ। फेसबुकका अनुसार करिब एक तिहाइ सामग्री बालउत्पीडनसँग सम्बन्धित हानिकारक पोस्टहरु रहेका छन् ।
फेसबुकका अनुसार ती सामग्री सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म हटाइएको हो । उक्त अवधिमा हटाइएका सामग्रीमध्ये १ करोड १६ लाख सामग्री बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसा झल्कने प्रकारका छन् ।
फेसबुकले स्वामित्व लिएको अर्को लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्रामको तथ्यांक पनि पहिलो पटक सार्वजनिक गरिएको छ।
फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म फेसबुकबाट हटाइएका १ करोड १६ लाख र इन्स्टाग्रामबाट हटाइएका ७ लाख ५४ हजार बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्रीमध्ये ९९ प्रतिशत आफैंले पत्ता लगाएको हो । अन्य एक प्रतिशत सामग्री भने अरूले दिएको जानकारीपछि हटाइएको हो ।
फेसबुकका अनुसार त्यसरी हटाइएका सामग्रीमा ३३ लाख ४५ हजार आत्महत्यासम्बन्धी छन् । त्यसैगरी, लागूऔषध बेचबिखनसम्बन्धी ५९ लाख सामग्री छन् । त्यसैगरी हतियार बेचबिखनबारेका सामग्री २३ लाख ५८ हजार र आतंकवादसम्बन्धी अल कायदा, आईएस र सहयोगी संस्थाका इन्स्टाग्रामबाट १ लाख ३३ हजार सामग्री हटाइएको दाबी गरेको छ। सन् २०१९ को जनवरीदेखि मार्चसम्मको तीन महिनामा फेसबुकले बाल यौनहिंसासम्बन्धी करिब ६० लाख सामग्री हटाएको जनाएको थियो ।
प्रतिक्रिया