मोरङ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ७ लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले विराटनगर महानगरपालिका-१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योति कुमार साह र भारत अररिया जोगबनी बस्ने १९ वर्षीय विक्की कुमार साहलाई पक्राउ गरेको हो ।
सोही ठाउँस्थित खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ज्योति कुमारको साथमा ४ लाख रुपैयाँ र मोटरसाइकलमा सवार विक्की कुमारको साथमा ३ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त रकमको उनीहरुले कुनै श्रोत खुलाउन सकेका छैनन् । प्रारम्भीक अनुसन्धानको क्रममा उक्त रकम भारत अररिया जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डी कारोवार अन्तर्गत पठाएको र यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछि प्रति १ लाख १ सय रुपैयाँ पाउने गरेको खुल्न आएको छ ।
उनीहरूलाई आइतबार थप अनुसन्धान तथा कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा वुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया