नाबालक छोरा छोडेर ठगी धन्दामा : ‘डिपेन्डेन्ट भिसा’मा अमेरिकाको सपना देखाउँदै ठगी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७६, सोमबार ०५:०९

काठमाडौं । सोफी शाहीले दर्जन बढी युवाहरुलाई अमेरिकाको सपना देखाएर ठगी धन्दा नै चलाएको रहस्य खुलेको छ ।

उनले सामाजिक सञ्जाल ‘फेसबुक’ मा छद्म नामको आइडी बनाएर युवाहरुसँग नजिक हुने र उनीहरुलाई अमेरिकाको सपना देखाएर ठगी गर्ने गरेको रहस्य खुलेको हो ।

दर्जनौं युवालाई ठगेको आरोपमा उनलाई महानगरीय प्रहरी वृत बौद्धको टोलीले पक्राउ गरेको छ।

दैलेख बाङ्खकोट नगरपालिका स्थायी घर भएकी शाहीलाई बौद्धबाट पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए । उनलाई गत शुक्रवार पक्राउ गरिएको हो ।

सोफीले ‘सोफीया तामाङ’ को नामबाट फेसवुक आइडी बनाइ युवाहरुलाई अमेरिकाको सपना बाँड्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एमबीबीएस पढ्दै गरेको बताउने सोफीले आफ्नी आमा पेम्बा शेर्पा अमेरिकामा भएको भन्दै युवाहरुलाई चङ्गुलमा पार्ने गर्थिन् ।

उनी आफैले ‘पेम्बा शेर्पा’ नामको आईडीबाट मेसेज गरेर अमेरिका सपना देख्नेहरुलाई ‘डिपेन्डेन्ट भिसामा आउन मिल्छ विवाह गरेर आउनु’ भनेको रिप्लाई गरेको मेसेजको स्क्रिन शट काटेर अमेरिका जान चाहनेहरुलाई पठाउने गरेको खुलासा भएको हो ।

उनले ‘सँगै अमेरिका जाऔं’ भन्दै पटक–पटक नक्कली विवाह समेत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोफीले ०७४ मा सिन्धुपाल्चोकको हेलम्बुका एकजनासँग विवाह गरेकी थिइन् । सोफीबाट उनको एउटा छोरा पनि जन्मिसकेको छ ।

सोफीले सिन्धुपाल्चोककै इन्द्रावती घर भएका अर्कैसँग पनि दोस्रो विवाह गरिन् । पहिलो श्रीमानबाट जन्मेको छोरालाई उनले काठमाडौंमा रहेको डेरामा छाडेकी थिइन् ।

प्रहरी अनुसन्धानका क्रममा बच्चा समेत छाडेर उनी ठगी धन्दामा लागेको खुलेको हो । पहिलो श्रीमानबाट जन्मेको उनको छोरा १ वर्षको रहेको जनाइएको छ ।

सोफीबाट ठगिएका चार जनाले महानगरीय प्रहरी वृत बौद्धमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जाहेरी दिनेहरुले कसैले २ लाख, कसैले १ लाख नगर र सुनका गरगहनासमेत लुटिएको जनाएका छन् ।

पछिल्लो समय सोफीले दोस्रो श्रीमान् र बच्चा पनि छाडेर नयाँ बस्तिमा बसेर ठगी धन्दा चलाइरहेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१