फूल खेतीमा किन आकर्षित भएनन् किसान ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७६, आईतवार १२:४३

काठमाडौं । तिहारमा अत्याधिक मात्रामा खपत हुने फूलहरु हुन् सयपत्री, मखमली र गोदावरी । उत्पादन कम र खपत बढि भएसँगै हरेक वर्ष भारतबाट फूल आयत हुने गरेको छ ।

तिहारमा घरलाई सिगार्नका लागि मानिसहरुले घर आँगन र बगैचाभरि सयपत्री र मखमली रोप्ने गरेका पनि छन् । यतिबेला धेरैका घर आँगन र बगैँचा सयपत्री फूलले ढकमक्क भएका पनि छन् ।

नेपालमा वि.स. २०११ सालबाट पुष्प व्यवसाय शुरु भएको थियो । पछिल्ला समय पुष्प व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएकाले स्वदेशका विभिन्न जिल्लाहरुमा यी फुलको उत्पादन हुन थालेका छन् । स्थानीय स्तरमा उत्पादन भएका फूलले केही मात्रामा भएपनि स्थानीय क्षेत्रका माग पूरा हुने गरेको छ ।

नेपालभर १ सय ५७ हेक्टर क्षेत्रफलमा ४३ जिल्लामा अहिले पुष्प खेती सञ्चालन भइरहेका छन् । यद्यपी फूलको आयत भने वर्षेनि बढिरहेको छ ।

फुल उत्पादन भएपनि समयमै फूल नफुल्नु, स्थानीय रैथाने जातका फूलहरु बढि उत्पादन हुनु जस्ता समस्याका कारण वर्षेनि फूलको आयत गर्नु परेको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

पुष्पगुच्छा बनाइने र विशेषगरी सजावटमा प्रयोग गरिने खालका फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझैं भारतबाट आयत गर्नुपर्ने अवस्था रहेको पुष्प व्यवसायीहरु बताउँछन् ।

तिहारमा साढे १ करोड रुपैयाँको सयपत्री आयात

पुष्प व्यवसायीहरुले तिहारलाई झिलीमिली बनाउनका लागि भारतबाट साढे १ करोड रुपैयाँको सयपत्री माला आयत गर्ने भएका छन् । गत वर्ष तिहारमा १ करोड २० लाख रुपैयाँको सयपत्री फूलको माला आयत गरिएको थियो ।

अन्य दिन दैनिक २० हजार मालाको माग हुने गरेपनि तिहारमा २५ लाख मालाको माग हुने फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले खबरहबलाई जानकारी दिए ।
‘तिहारमा १८ लाख सयपत्री फूलको माला आवश्यक हुन्छ’ श्रेष्ठले भने ‘१५ लाख स्वदेशका विभिन्न ठाउँबाट ल्याउने तयारीमा छौं भने साढे २ लाख भारत तथा अन्य मुलुकबाट आयत गर्ने छौं।’

भारतबाट सयपत्री आयत गर्दा प्रतिमाला ४० रुपैयाँका दरले ल्याउने बताउँदै उनले भने ‘साढे २ लाख माला आयत गर्दा १ करोड रुपैयाँ पर्न जान्छ भने ती मालाको मुल्य नेपाली बजारमा ७० रुपैयाँसम्म पर्नेछ।’

त्यस्तै मखमली र गोदावरी ७ लाखको मालाको माग रहेको छ । त्यसलाई धान्न सक्ने उत्पादन स्वदेशमै रहेको उनले बताए ।

गत वर्षभरी २ अर्ब ४२ करोड रुपैयाँको फूलको कारोवार भएको थियो । १९ करोड रुपैयाँको फूल भने बाह्य मुलुकबाट ल्याइएको थियो ।

कसजुका अनुसार ८० प्रतिशत आन्तरिक र बाँकी २० प्रतिशत भारतबाट फूलको आयत हुने गरेको छ ।

तिहारका समयमा मखमली र गादावरीका माला आन्तरिक उत्पादनले नै पुग्ने बताउँदै उनी भन्छन्, ‘मखमली त खाडीमुलकमा समेत निर्यात भइरहेको अवस्था पनि छ।’

उनकाअनुसार परदेशमा रहेका नेपालीहरुले तिहार मनाउनका लागि नेपालबाटै मखमली निर्यात हुनेगर्छ ।

प्रदेश संघको आवश्यक

देश संघीय संरचनामा गएसँगै फ्यान पनि संघीय संरचनामा जानुपर्ने उनको भनाइ छ । ‘प्रदेश संघहरु निर्माण गर्नुपर्छ’ उनले भने ‘हामीले यस सम्बन्धि विधान पारित गरेका छौं।’

उनका अनुसार फ्यान आगामी दिनमा प्रदेश स्तरीय संघका रुपमा अघि बढ्ने र प्रदेशका विभिन्न जिल्लामा पुगि पुष्प व्यवसाय सम्बन्धि गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ ।

त्यस्तै अहिले एशोसिएसनको पाच वटा जिल्ला समिति छन् । समितिले सो जिल्लामा रहेका पुष्प व्यवसायीलाई संगठित गर्ने काम गरिरहेको छ ।

कहिले बन्ला आत्मनिर्भर ?

नेपालले हरेक सामानमा परनिर्भता रहनु पर्ने अवस्था रहेको छ । गाँस बास र कपास मात्र होइन आवश्यकता परिपूर्ति गर्ने हरेक वस्तु आयतित रहेका छन् ।

त्यस्तै अर्को आयत वस्तु हो ‘फूल।’ नेपालमा पुष्प व्यवसाय शुरु भएको साढे ६ दशक बितिसक्दा पनि यसप्रति किसानको आकर्षण बढ्न सकेको छैन । जसकारण वर्षेनि फूलको आयत गर्नुपर्ने बाध्यता रहेको छ ।

नेपाललाई फूलमा आत्मनिर्भर बनाउनका लागि फ्यानले ३ वर्ष अघि पञ्चवर्षिय रणनीति समेत ल्याएको थियो ।

‘अबको ५ वर्षमा फ्लारिकल्चर इन्ड्रस्ट्री कहाँ पुग्ने र त्यो बीचमा आयतलाई कति प्रतिस्थापन गर्न सक्ने भन्ने बारे सोही रणनीतिमा तय गरेका पनि छौं’ खबरहबसँगको कुराकानीमा श्रेष्ठले भने ‘प्रत्येक वर्ष आन्तरिक बजारमा १० देखि १५ प्रतिशत माग वृद्धि भइरहेको छ।’

उनकाअनुसार मानिसहरुले विस्तारै फूलको महत्व बुझ्दै गएको र व्यवसायिक रुपमा फूलको खेतीतर्फ आकर्षण बढ्न थालेको छ । ‘७ हजारभन्दा बढि पुष्प व्यवसायीहरुले पुष्प व्यवसाय गरिरहेका छन्’ उनले भने ‘४३ हजार ५ सयभन्दा बढि व्यक्तिले रोजगारीको अवसर पाएका छन्।’

पुष्पखेतीमा यसरी नै किसान तथा युवाहरुको आकर्षण बढेमा र स्थानीय स्तरमा पुगेर तालिम दिन सकेमा नेपाललाई फूलमा आत्मनिर्भर बनाउन सकिने श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१