राष्ट्रपतिद्वारा २९७ छात्रछात्रालाई विद्याभूषण पदक प्रदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ भाद्र २०७१, सोमबार १५:१४

काठमाडौँ,   २३ भाद्र  । राष्ट्रपति डा. रामवरण यादवले मुलुकभित्र र बाहिरका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि तथा विभिन्न तहमा सर्वाेत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण हुने २९७ जना छात्रछात्रालाई नेपाल विद्याभूषण पदक तथा नेपाल छात्रा विद्यापदक र प्रमाणपत्र प्रदान गर्नुभएको छ ।rambaran-yadav

पँैतीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा शिक्षा मन्त्रालयद्वारा राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति डा यादवले उहाँहरूलाई सो पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
समारोहमा विद्यावारिधिको उपाधि प्राप्त गर्ने १७५ जना महानुभावलाई ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै स्नातकोत्तर तहअन्तर्गत विभिन्न सङ्कायको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने ६२ जना छात्रछात्रालाई ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरियो ।
स्नातक तहको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने २० जना छात्रछात्रालाई राष्ट्रपति डा. यादवले सो अवसरमा ‘ग’ श्रेणीको नेपाल भूषण पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
समारोहमा राष्ट्रपति डा. यादवले स्नातक तहका विभिन्न सङ्कायअन्तर्गतका वार्षिक परीक्षामा सर्वोच्च अङ्क हासिल गर्ने २६ जना छात्रालाई नेपाल छात्रा विद्या पदक प्रदान गर्नुभयो ।
सो अवसरमा प्रमाणपत्र तहमा विशिष्ट अङ्क ल्याउने १४ जना छात्रालाई समेत नेपाल छात्रा विद्यापदक प्रदान गरिएको थियो । शिक्षा मन्त्रालयबाट २०७० का लागि सिफारिस भएका छात्रछात्रालाई सो पदक प्रदान गरिएको हो ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री एवम् सङ्घीयमामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमानसिंह, शिक्षा मन्त्री चित्रलेखा यादव तथा नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरू सहभागी हुुनुहुन्थ्यो ।
यस वर्षको राष्ट्रिय शिक्षा दिवसको नारा सक्षम शिक्षकस्तरीय शिक्षा, समृद्धिका लागि साक्षरता र प्रविधियुक्त शिक्षा रहेको छ । रासस

प्रतिक्रिया