जीवनोपयोगी शिक्षा आवश्यक– राष्ट्रपति डा. यादव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ भाद्र २०७१, सोमबार १३:३७

काठमाडौँ,   २३ भाद्र । राष्ट्रपति डा. रामवरण यादवलले शिक्षालयलाई विशुद्ध प्राज्ञिक थलोका रुपमा विकसित गर्न सरोकारवालाहरुको सहभागिता, सहकार्य र प्रतिबद्धताको आवश्यकता रहेको बताउनुभएको छ ।

पैँतीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा शिक्षा मन्त्रालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विभूषण प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय समुदाय ज्ञानमा आधारित समाज निर्माण गर्न अघि बढिरहेको विश्व परिवेशमा हाम्रा शैक्षिक संस्थाहरुको प्रभावकारिता हाम्रा निम्ति चुनौतीका रुपमा रहेको उल्लेख गर्नुभयो ।
सान्दर्भिक तथा जीवनोपयोगी शिक्षाको पहँुच विस्तार गर्न आवश्यक रहेको बताउँदै राष्ट्रपति डा. यादवले उल्लेखनीय सङ्ख्यामा रहेका निरक्षर नेपालीप्रतिको दायित्व पूरा गर्नेतर्फ दक्षता देखाउन विद्यावारिधि तथा विश्वविद्यालयका विभिन्न परीक्षामा सर्वाेत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई सुझाव दिनुभयो ।

देश विकासका निम्ति आत्मविश्वासका साथ लगनशील रही सम्भावनालाई यथार्थमा परिणत गर्नेतर्फ विभूषित विद्यार्थीहरु लागि पर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सीमित साधन र स्रोतका बाबजुद शिक्षा क्षेत्रमा राज्यले ठूलै लगानी गरिरहेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति डा. यादवले भन्नुभयो, “आफूले आर्जन गरेका ज्ञान र सीपलाई राष्ट्र निर्माणमा लगाउनका लागि प्रतिबद्ध भई कार्यक्षेत्रमा उत्रन म आह्वान गर्दछु ।

सो अवसरमा शिक्षा मन्त्री चित्रलेखा यादवले नेपालको शिक्षा विकासमा जवाफदेही रुपमा कार्य गर्न शिक्षा दिवसले सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस वर्षको शिक्षा दिवसको मूल नारा सक्षम शिक्षक स्तरीय शिक्षा, समृद्धिका लागि साक्षरता र प्रविधियुक्त शिक्षा रहेको छ ।

समारोहमा डा. यादवले २९७ जना विद्यार्थीलाई विद्याभूषण पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस

प्रतिक्रिया