कस्ता व्यक्ति एनआरएनएमा उम्मेद्वार बन्न सक्छन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०७६, आईतवार ०५:३६

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अन्तर्राष्ट्रिय महाधिवेशन तथा नवौँ विश्व सम्मेलनबाट नयाँ कार्यसमिति चयन गर्ने जिम्मेवारी पाएको निर्वाचन समितिले अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष तथा अन्य पदाधिकारी पदको लागि आवश्यक पर्ने योग्यता तोकेको छ । गैरआवासीय नेपाली संघ निर्वाचन सम्बन्धी नियमावली, २०१९ मा उल्लेख भएको व्यवस्था बमोजिम उम्मेदवारका लागि तोकिएको योग्यता यसप्रकार बताइएको छ :
१) अन्तर्राष्ट्रिय सम्मेलनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको ।
२) विधानको धारा १७.५.१ अनुसार अध्यक्ष पदका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य पदमा एक कार्यकाल पूरा गरेको ।
३) विधानको धारा १७.५.२ बमोजिम अध्यक्ष बाहेक अन्य पदाधिकारीहरुका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य वा कुनै राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी पदमा एक कार्यकाल पूरा गरेको ।
४) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यहरुको हकमा निज अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य वा कुनै राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्यमा एक कार्यकाल पुरा गरेको ।
५) अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्ष वा पदाधिकारी सोहि पदमा लगातार दुई पदावधि भन्दा बढि पदावधिको लागि पुन निर्वाचित हुन योग्य हुने छैन ।
६) विधानको धारा ५.१ बमोजिम नेपाली मूलको विदेशी नागरिक वा दुई वर्षभन्दा बढि नेपाल सरकारबाट खटिई विदेश स्थित नेपाली नियोगमा वहाल रहेको, विदेश स्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एशियाली सहयोग संगठन(सार्क) अन्तर्गतका मुलुकहरु बाहेकका अन्य देशमा पेशा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने गैरआवासीय नेपाली नागरिक हुनु पर्ने ।
७) विधानको १७.५ बमोजिम अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले सम्बन्धित राष्ट्रिय समन्वय परिषदवाट सो देशमा दुई वर्ष भन्दा बढि अवधी बसोवास गरेको प्रमाणित हुने कागजात पेश गर्नु पर्नेछ ।
८) बिधानको धारा १७.५.४ बमोजिम राष्ट्रिय समन्वय परिषद् वा अन्तर्राष्ट्रिय समन्वय परिषदका कुनैपनि पदमा निर्बाचनमा पराजित उमेद्वार वा बिजयी उमेद्वार सो कार्यकालका लागी राष्ट्रिय समन्वय परिषद वा अन्तराष्ट्रिय समन्वय परिषदका अर्को कुनैपनि कार्यकारी पदमा उमेद्वार बन्न वा मनोनित हुन अयोग्य हुनेछ ।
९) बिधानको धारा १७.५.५ अन्तराष्ट्रिय समन्वय परिषद्को निर्णय बमोजिम राष्ट्रिय समन्वय परिषद् वा अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारी वा सदस्यको हैसियतले तिर्नुपर्ने शुल्क चुक्ता नगरेका ब्यक्तिहरु राष्ट्रिय समन्वय परिषद वा अन्तराष्ट्रिय समन्वय परिषदका कुनैपनि कार्यकारी पदमा उमेद्वार बन्न वा मनोनित हुन पाउने छैनन् ।

१०) उम्मेदवार बन्नको लागि राष्ट्रिय समन्वय परिषद्बाट महाधिवेशन प्रतिनिधि छानिएको हुनुपर्ने छ । संघको विधान १३.६ बमोजिम हाल कायम अन्तराष्ट्रिय समन्वय परिषदका पदाधीकारी तथा सदस्यहरु मतदान अधिकार सहितको स्वतः महाधिवेशन प्रतिनिधी हुने पाउने छन् । तर यस्ता पदाधिकारी वा सदस्यहरुको गैर आवासीय नेपालीको हैसियत कायम रहेको भने हुनु पर्नेछ ।

त्यस्तै उम्मेदवारीको लागि आवश्यक कागजातहरु बारे पनि उल्लेख गरिएको छ । जसअनुसार उम्मेदवार बन्न चाहनेले विधानको ५.१ को बमोजिम भई विदेशमा २ वर्ष वा सा ेभन्दा बढी अवधी बसेको प्रमाणित हुने कागजात, आफ्नो आवासीय हैसियत खुल्ने गरी भिषा सहीतको राहदानीको छायाँ प्रति वा राहदानीमा भिषा नलाग्ने गरि प्रबेशाज्ञा पाएको देश भएमा सो पुष्ठि गर्ने अन्य कुनै प्रमाणित कागजात र तोकिएको उम्मेदवारी दस्तुर बुझाएको रसिद सचिवालयमा बुझाउनु पर्ने हुन्छ ।

सम्मेलनमा भाग लिन आउने प्रतिनिधीहरु, निर्वाचन प्रयोजनका लागी मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरु तथा निर्बाचनमा भाग लिने उमेद्वारहरुले संघको बिधान अनुसार गैरआवासीय नेपाली हो भनी प्रमाणीत गर्ने भिसा सहितको पासपोर्टको कपी वा सम्बन्धित देशको प्रबेशाज्ञा वा स्थायी बसोवासको प्रमाणीत कपी पेश गर्नु पर्नेछ । विदेशमा बसोबास गरिरहेका तर भिषा समय सकिएर रिन्यू नभएकाहरु तथा रिन्यू गर्न नेपाल आएका प्रतिनिधीहरुको हकमा भिषा रिन्यूको लागि आवेदन दिएको कुरा प्रमाणित हुने कागजात अनिबार्य रुपमा पेश गर्नु पर्नेछ । यस्तो प्रमाण पेश नभएका प्रतिनिधी, मतदाता तथा उमेद्वारहरुलाई मान्यता नदिइने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१