“मलाई सञ्चो छैन!” जब तपाईंको बच्चा यसो भन्दै चिल्लिंदै रुन्छ, सायद, तपाईं हतपत उसको जरो नापिहाल्नुहुन्छ होला। उसलाई साँच्चै जरो आएको छ भने त झन् ब्याकुल भएर तपाईंलाई के गरूँ, कसो गरूँ हुन सक्छ।
संयुक्त राज्य अमेरिकाको बाल्टिमोर, मेरील्याण्डस्थित द जोन्स होप्किन्स बाल केन्द्रले गरेको एउटा अध्ययनले देखाएअनुसार ९१ प्रतिशत आमाबाबुले “तुलनात्मक रूपमा सानोतिनो जरोले समेत अकस्मात् मूर्छा पर्ने अथवा मस्तिष्कमा क्षति पुऱ्याउने जस्ता एउटा न एउटा हानि गरेरै छाड्छ” भनी विश्वास गरेको पाइयो। सोही अध्ययनले देखाउँछ “आफ्नो बच्चाको जरो १०२ डिग्री फारेनहाइट् (३८.९ डिग्री सेल्सियस) पुग्न नपाउँदै ८९ प्रतिशत आमाबाबुले आफ्नो बच्चालाई जरो ओलर्ने औषधी दिइहाल्छन्।”
आफ्नो बच्चालाई जरो आउँदा तपाईं कत्तिको आत्तिनुपर्छ? जरोको उपचार गर्ने उत्तम तरिकाहरू के-के हुन्?
जरोको महत्त्वपूर्ण भूमिका
जरो आउनुको कारण के हो? अक्सर सामान्यरूपमा शरीरको तापक्रम लगभग ९८.६ डिग्री फारेनहाइट् (मुखबाट नाप्दा) हुने भए तापनि दिनभरिमा यो तापक्रममा सामान्यतया त्यस्तै एक डिग्री जति घटबढ हुन सक्छ।* त्यसैले बिहान तपाईंको शरीरको तापक्रम कम र मध्याह्नतिर बढी हुन सक्छ। मस्तिष्कको तल्लो भागमा हुने हाइपोथालामसले शरीरको तापक्रमलाई धेरै हदसम्म थर्मोस्टेट अर्थात् ताप नियन्त्रक यन्त्रले जस्तै नियन्त्रण गर्छ। ब्याक्टेरिया अथवा भाइरसले शरीरमा आक्रमण गर्ने बित्तिकै त्यसको प्रतिकार गर्न रोगप्रतिरोधात्मक प्रणालीले रगतमा पाइरोजेन नामक तत्त्व उत्पादन गर्दा जरो आउँछ। यही पाइरोजेनले हाइपोथालामसलाई तापक्रम “बढाउन वा घटाउन” उत्तेजित गर्छ।
जरोले असजिलो भएको महसुस गराउनुका साथै जलवियोजन हुन सक्ने भए तापनि जरोले हानि नै गर्छ भन्ने छैन। वास्तवमा, मेयो फाउन्डेसन फर मेडिकल एजुकेशन एण्ड रिसर्चका अनुसार ब्याक्टेरिया तथा भाइरसले ल्याएको संक्रमणलाई शरीरबाट मिल्काउन जरोले प्रमुख भूमिका खेल्न सक्छ। “रुघा र अन्य श्वासप्रश्वासको संक्रमण ल्याउने भाइरसहरूलाई चिसो तापक्रम मनपर्छ। हल्का जरो आउन दिएर वास्तवमा तपाईंको शरीरले भाइरसलाई हटाउन मदत गरिरहेको हुन्छ।” त्यसैले, उक्त संस्था अझ यसो भन्छ, “हल्का जरोलाई झार्नु आवश्यक छैन र यसो गर्नुभयो भने प्राकृतिक तरिकामा रोग निको पार्ने तपाईंको शरीरको संरचनामा वाधा पुग्न सक्छ।” चाखलाग्दो कुरा त के छ भने, मेक्सिकोस्थित एउटा अस्पतालमा कुनै-कुनै रोगको उपचार शरीरको तापक्रम बढाएर गरिन्छ जसलाई हाइपरथर्मिया भनिन्छ।
अमेरिकन कलेज अफ इमर्जेन्सी फिजिसियन्सका डा. एल सकेट्टी यसो भन्छन्, “जरो आफैमा ठूलो समस्या होइन। यद्यपि, यो तपाईंको शरीरमा सङ्क्रमण हुन सक्छ भनी देखाउने लक्षण हो। त्यसैले बच्चालाई जरो आउँदा तपाईंको ध्यान घरीघरी जरो नाप्ने डिग्रीमा होइन तर बच्चा र सम्भाव्य सङ्क्रमणमा हुनुपर्छ।” अमेरिकी बाल-चिकित्सा प्रतिष्ठान यसो भन्छ: “बच्चालाई असजिलो महसुस नभएसम्म र पहिले कहिल्यै कम्प छुट्ने गरी जरो आएको छैन भने १०१ डिग्री फारेनहाइट्सम्म (३८.३ डिग्री सेल्सियस) जरोको उपचार गर्नु पर्दैन। बच्चालाई पहिले कहिल्यै कम्प छुट्ने गरी जरो आएको छैन वा दीर्घ रोग लागेको छैन भने तापक्रम धेरै भए तापनि त्यो त्यति खतरनाक वा महत्त्वपूर्ण हुँदैन। बढी महत्त्वपूर्ण कुरा त, आफ्नो बच्चाले कस्तो व्यवहार गर्दैछ भनी नियाल्नु हो। यदि बच्चा खाइरहेको छ, राम्ररी निदाइरहेको छ र अलि-अलि हाँसखेल पनि गर्दैछ भने, सायद कुनै उपचारको आवश्यक नपर्न सक्छ।”
हल्का जरोको कसरी उपचार गर्ने
यसको मतलब यो होइन कि, तपाईंले आफ्नो बच्चालाई राहत दिन केही गर्नै सक्नुहुन्न। हल्काखाले जरोको उपचार गर्न केही चिकित्साविज्ञहरूले निम्न सल्लाह दिन्छन्: आफ्नो बच्चाको कोठा ठिक्क मात्रामा चिसो राख्नुहोस्। बच्चालाई हल्का लुगा लगाइदिनुहोस्। (बढी तातोले जरो चर्काउन सक्छ।) बच्चालाई पानी, फलफूलको पातलो रस र सुरुवा जस्ता थप झोल पदार्थ खुवाउनुहोस् किनकि जरोले जलवियोजन गराउन सक्छ।* (कोला अथवा कालो चिया जस्ता क्याफिन भएका पेय पदार्थहरूले घरीघरी पिसाब फेर्न लगाउनुका साथै यसले जलवियोजन गराउन सक्छ।) बच्चालाई दूध चुसाइरहनुपर्छ। पचाउन गाह्रो हुने खानेकुरा नखुवाउनुहोस् किनकि जरोले पाचनशक्तिलाई कमजोर बनाउँछ।
बच्चाको जरो १०२ डिग्री फारेनहाइट्भन्दा माथि चढ्यो भने डाक्टरको सल्लाहविनै अक्सर पारा सिटामोल अथवा आइबुप्रोफनजस्ता जरो कम गर्ने औषधीहरू खुवाइन्छ। यद्यपि, केवल निर्देशनमा तोकिएको मात्रा खुवाउनु महत्त्वपूर्ण छ। (दुई वा दुई वर्षभन्दा कम उमेरका बच्चाहरूलाई डाक्टरको सल्लाहविना कुनै पनि औषधी खुवाउनु हुँदैन।) जरो कम गर्ने औषधीले भाइरसहरूलाई नष्ट गर्दैन। त्यसैले यस्ता औषधीहरूले बच्चालाई रुघा अथवा अन्य त्यस्तै बिमारीहरूबाट तुरुन्तै निको पार्दैन तर आराम भने दिन सक्छ। कुनै-कुनै विज्ञहरूले जरो कम गर्न १६ वर्ष मुनिका बच्चाहरूलाई एस्प्रिन नदिने सल्लाह दिन्छन् किनकि एस्प्रिनले ज्यानै जान सक्ने रेयीज सिन्ड्रोम भन्ने रोग लाग्ने सम्भावना हुन्छ।*
स्पन्ज वा कुनै नरम कपडा भिजाएर बिस्तारै नुहाइदिएर पनि जरो कम गर्न सकिन्छ। नुहाउने टब अर्थात् बाटामा एक वा दुई इन्च जति मनतातो पानी राखेर बच्चालाई टबमा बस्न लगाउनुहोस्, स्पन्जले बिस्तारै नुहाइदिनुहोस् (मालिस गर्दा लगाउने अथवा एन्टिसेप्टिकको रूपमा प्रयोग गर्ने अल्कोहल मिसिएको कुनै पनि तरल पदार्थ प्रयोग नगर्नुहोस्, यो घातक हुन सक्छ।)
सँगैको पेटीले कतिबेला डाक्टरलाई बोलाउने निर्णय गर्न सकिन्छ भन्ने विषयमा केही मदतकारी जानकारी दिन्छ। डेंग, इबोला भाइरस, टाइफाइड अथवा पहेंलो जरो जस्ता रोगहरू फैलिएको इलाकामा बस्नेहरूलाई चिकित्सकीय ध्यान दिनु विशेष गरी महत्त्वपूर्ण हुन्छ।
त्यसो भए, तपाईंले गर्नुपर्ने मुख्य कुरा भनेको आफ्नो बच्चालाई सकेसम्म सुबिस्तासित राख्नु हो। जरोले गर्दा बिरलै मात्र स्नायुसम्बन्धी हानि हुने तथा मृत्यु हुने गर्छ भन्ने कुरा पनि नबिर्सनुहोस्। जरोले गर्दा अकस्मात् मूर्छा पर्ने खतरा हुन सक्ने तापनि अक्सर त्यसले पछिसम्म असर गर्दैन।
प्रतिक्रिया