त्रिनेत्रका अनाथ बालबालिकालाई ‘रातो टीका निधारमा’ को सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७६, बिहीबार ०४:३९

काठमाडौं । चलचित्र ‘रातो टीका निधारमा’ टिमले राजधानीको गोंगबुस्थित त्रिनेत्र फाउडेन्सनलाई सहयोग गरेको छ । प्रायः सिनेमाको प्रचारमा भेटिने निर्माण टिम मंगलबार भने त्रिनेत्र फाउन्डेसनमा भेटिएको थियो ।

‘रातो टीका निधारमा’ टिमले त्यहाँ रहेका दृष्टिविहिन र अनाथ बालबालिकालाई नयाँ कपडा उपहार दियो । दशैँ नजिकिँदै गर्दा सहयोग पाउँदा अनाथ बालबालिका प्रफुल्ल देखिन्थे ।

सामाजिक सञ्जाल फेसबूकमा सक्रिय ग्रुप वुरूम्स रिलोटेडको सहकार्यमा ‘रातो टिका निधारमा’ले फाउन्डेसनलाई सहयोग गरेको थियो ।
साम्राज्ञीले आफू पहिलोपटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको बताइन् । फाउन्डेस परिसर पुग्दा उनी भावुक देखिएकी थिइन् । उनले अहिलेसम्म यस्तो खाले सहयोग नगरेको र यसरी सहयोग गर्न पाउँदा खुशी मिलेको प्रतिक्रिया दिइन् ।

यस्तै निर्देशक अशोक शर्माले अनाथ र अशक्त बालबालिकालाई सहयोग गर्दा आफ्नो बाल्यकाल याद गरेको प्रतिक्रिया दिए । ‘दशैँ भन्न वितिकै नयाँ कपडा र मिठो खानाको लागि सम्झिन्छौँ । मेरो बाल्यकालमा नयाँ कपडा लगाउन दशैँ नै कुर्नुपर्थ्यो । अहिले आएर दशैँको मुखमा सानो सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानी ठानेको छु,’ निर्देशक शर्माले भने ।

यता शर्माका छोरा तथा फिल्म ‘रातो टिका निधारमा’बाट डेब्यु गरेका कलाकार अंकित शर्माले यस्तो खालको सहयोग गर्दा खुशी मिल्ने बताए । ‘कुनै बेला कपडा लगाउन दशैँ कुर्ने मेरो बुबाले हामीलाई यस्तो अभाव हुन दिनुभएन, उहाँहरुलाई सहयोग गर्दा खुशी लाग्यो,’ अंकितले भने ।

अभिनेता रविन्द्र झा पनि त्यहाँ पुगेका थिए । उनले सानो सहयोगले पनि अरुको जीवनमा ठूलो खुशी ल्याउने प्रतिक्रिया दिए ।

किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ले वैदेशिक रोजगारको कथा उठाएको छ । रोजगारका कारण दशैँमा घर फर्किन नसकेका नेपालीको कथा बोल्ने यो फिल्म असोज १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१