काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय भक्तपुरका दुई जना शाखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मोटो रकम लिएर नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरण गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
शाखा अधिकृत अनोजकुमार घिमिरे, शाखा अधिकृत कोमलराज निरौला र नायव सुब्बा हेम कुमार वस्नेतले सुन्दर अधिकारीको नाममा भारतीय सवारीचालक अनुमतिपत्रलाई नेपालीकरण गरेको आरोप छ ।
नक्कली भारतीय सवारी चालक अनुमतिपत्र नेपाली करण गरेको आरोपमा तीनजना कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदावी गरिएको छ ।
सुन्दर अधिकारीको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदावी गरिएको छ ।
अधिकारीले भारतीय सवारीचालक अनुमतिपत्रको नेपालीकरणका लागि नक्कली भारतीय सवारीचालक अनुमतिपत्र र दूतावासको नक्कली सिफारिस पेश गरेका थिए । सोही आधारमा यातायात व्यवस्था कार्यलय भक्तपुरका कर्मचारीले निजको नाममा नेपाली सवारीचालक अनुमतिपत्र समेत तयार पारेका थिए ।
यसैबीच, यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगरविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग १५ हजार घुस लिँदै गर्दा उनीहरुलाई अख्तियारको टोलीले रंगे हात पक्राउ गरेको थियो ।
प्रतिक्रिया