राजस्व जुनसुकै बैंकमा जम्मा गर्न मिल्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७६, बिहीबार ०९:१२

नागरिकले कुनैपनि व्यवसाय वा रोजगारीबाट हुने करयोग्य आम्दानीमा अनिवार्य रुपमा कर तिर्नु पर्दछ । कर प्रतिफलको आशा नराखी राज्यलाई बुझाउनुपर्ने अनिवार्य दायित्व हो । प्रत्येक करदाताले कानुन बमोजिम आय विवरण र कर रकम दाखिला गर्नुपर्दछ । अन्यथा ब्याज, शुल्क र जरिवाना तिर्नुपर्ने हुन्छ । हाल कुनैपनि व्यक्ति वा संस्थाले तिर्नुपर्ने कर नगदमा नभई बैंकिङ माध्यमबाट बुझाउनुपर्ने व्यवस्था छ । त्यसैले करदाताले बैंकमार्फत नै कर भुक्तानी गर्नुपर्दछ । तर, कुनकुन बैंकले राजस्व संकलन गर्छन् भन्ने विषयमा करदातामा द्विविधा रहेको पाइन्छ ।

कतिपय करदाताले सम्बन्धित बैंकको जुनसुकै शाखामा पनि कर रकम दाखिला गर्न सकिन्छ भन्ने बुझाईका कारण सास्ती बेहोर्नुपरेका उदाहरण समेत छन् । याद गर्नुहोस्, जुनसुकै बैंकले राजस्व संकलन गर्न पाउँदैनन् । स्वीकृति प्राप्त बैंकले मात्रै राजस्व संकलन गर्दछन् ।

राजस्व संकलन गर्ने स्वीकृति प्राप्त बैंकले समेत जुनसुकै शाखाबाट राजस्व संकलन गर्दैनन् । त्यसैले स्वीकृति प्राप्त बैंकको तोकिएको शाखामा मात्रै राजस्व दाखिला गर्न सकिन्छ । उदाहरणको लागि मानौं, तपाईंले राजस्व तिर्नुपर्ने बैंक एभरेष्ट बैंक लिमिटेड हो । तर, सो बैंकको जुनसुकै शाखाले राजस्व संकलन गर्दैनन् । एभरेष्ट बैंकले सम्बन्धित राजस्व कार्यालयमा छुट्टै काउन्टरको व्यवस्था गरेको छ । त्यसैले राजस्व दाखिला कुन बैंकको कुन शाखामा गर्ने भन्नेबारे स्पष्ट हुनु जरुरी छ ।

नेपाल सरकारले राजस्व संकलनको लागि यी बैंकका शाखाहरुलाई स्वीकृति दिएको छः

· नेपाल राष्ट्र बैंकका तोकिएका शाखाहरु ।

· राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखाहरु ।

· नेपाल बैंक लिमिटेडका तोकिएका शाखाहरु ।

· एभरेष्ट बैंक लिमिटेडका तोकिएका शाखाहरु ।

गत आर्थिक वर्षदेखि राजस्व भुक्तानी अनलाईनबाट समेत गर्न सकिन्छ । अनलाईन भुक्तानीका लागि आन्तरिक राजस्व विभागको Tax Payer Portal (taxpayerportal.ird.gov.np), महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको राजस्व भुक्तानी पोर्टल (राजस्व डट एफसीजीओ डट जीओभी डट एनपी rajaswa.fcgo.gov.np) अथवा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस एप वा अनलाईन (कनेक्ट आईपीएस डटकम connectips.com) को प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१