काठमाडौं । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज र भोलि देशभरि नै बदली भई वर्षा हुने र बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाण, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गालको खाडीलाई बुझिन्छ ।
मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार देशभर आंशिकदेखि पूर्णबदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको र पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
हाल पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको साथै बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया