मदन भण्डारी राजमार्गको डिपिआर निर्माण सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७६, मंगलवार ०४:३६

काठमाडौं । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ ।

पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट खण्डको ९४ किलोमिटर सडकको डिपिआरको काम सुरु गरिएको हो । पूर्वको झापादेखि सुदूरपश्चिमको डडेल्धुरासम्म जोडिने ‘नेशनल हाइवे ०९’ नामक मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको काल्चे, मालारानी, बेनिघाटको १३२ किलोमिटर सडकलाई केन्द्रमा राखेर डिपिआरको काम सुरु गरिएको छ ।

वि.सं. २०५१ मा ट्रयाक खोलिएको सडकको सुरु बिन्दु बड्डीचौर तथा अन्तिम बिन्दु गुटु हुँदै सिमीचौरसम्म दुई लेनको हुनेछ । सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले डिपिआर सर्भेका लागि परामर्शदाता कम्पनी सिल्ट सिआरसी जिओकम जेभी ललितपुरले काम सुरु गरिसकेको जानकारी दिए । उनका अनुसार कम्पनीलाई सर्भे गर्न ५० दिनभित्र २५÷२५ मिटर दायाँबायाँ क्षेत्रफलमा सर्भे गर्नेछ ।

चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले मदन भण्डारी राजमार्ग निर्माण भए पश्चिम सुर्खेतको मुहार फेरिने बताए । सडक र बिजुली विकासको मेरुदण्ड भएकाले संघीय सरकारले ढिलासुस्ती गर्न नहुने उनको भनाइ थियो ।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले २०५१ सालमा खोलिएको ट्रयाकले अहिले पूर्णता पाउँदा खुशी लागेको बताए । ‘त्यतिबेला जन्मिएको बच्चा अहिले तन्नेरी हुँदैछ भने सडक बुढो भएको छ,’ उनले भने, ‘स्थानीय तहमा आउने बाधा अवरोधको सहजीकरण गर्न सदैव तयार छौं ।’

सुर्खेत–२ का प्रतिनिधिसभा सदस्य नवराज रावतले मङ्सिर महिनाभित्र डिपिआर सम्पन्न गर्न कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए । सडक स्तरोन्नतिका लागि संघीय सरकारसँग चार अर्ब बजेट माग गरिएको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१