शिक्षामा विदेश मोह, ९ वर्षमा ३ लाख बाहिरिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७६, सोमबार ०६:५०

काठमाडौं । पछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नौ वर्षमा ३ लाख २ हजार ७ सय ९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएका छन् । यो तथ्यांकका आधारमा दैनिक १६४ जना विद्यार्थी बिदेसिने गरेको देखिन्छ ।

२०६७/६८ मा ११ हजार ९ सय ८२ जना र २०६८/६९ मा १० हजार ३ सय २४ जनाले अनुमति लिएका छन् । विदेशमा अध्ययनका लागि जानुअघि शिक्षा मन्त्रालयमार्फत नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने प्रावधान छ ।

यस्तै, २०६९/७० मा १६ हजार ५ सय ४, २०७०/७१ मा २८ हजार १ सय २६ र २०७१/७२ मा ३० हजार ६ सय ९६ जनाले अनुमति लिएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले बताए ।

तर, सरकारले ती विद्यार्थीको अवस्थाबारे तथ्यांक राख्न सकेको छैन । जसकारण, विदेशमा नेपाली विद्यार्थीको अवस्थाबारे सरकारलाई जानकारी छैन ।

यसैगरी, २०७२/७३ मा ३२ हजार ४ सय ८९, २०७३/७४ मा ५० हजार ६ सय ५९ जना, २०७४/७५ मा ५८ हजार ७ सय ५८ र २०७५/७६ मा ६३ हजार २ सय ५९ जना विद्यार्थी बिदेसिएको शिक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अध्ययनका लागि नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका ६० वटा देशमा जाने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार ३ लाख ६१ हजार ४ सय ५५ जना विद्यार्थीले नेपालमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

जनशक्ति प्रक्षेपण कार्यदलको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । जनशक्ति प्रक्षेपणले मुलुकमा केका लागि कति जनशक्ति आवश्यक छ भनेर प्रक्षेपण गर्ने र बिदेसिने विद्यार्थीको संख्या न्यून केही संख्यामा घट्ने अपेक्षा लिइएको छ ।

छात्रवृत्तिसम्बन्धी ऐन २०२१ संशोधनसहितको नियम २७ को (क) बमोजिम विदेशमा उच्च शिक्षा अध्ययन गर्न न्यूनतम १० जोड २ वा सोसरह उत्तीर्ण गरी विदेशका विश्वविद्यालय वा कलेजमा उच्च शिक्षा अध्ययन गर्न जान पाउने नयाँ व्यवस्था गरिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१