लेदोले राजमार्ग अवरुद्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७६, बिहीबार ०५:४०

गल्छी । राजमार्गदेखि मास्तिरको खेतबाट आएको चिप्लो लेदो माटोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । राजधानीबाट आउँदै गर्दा गल्छी पुग्ने आह्रालो मोडमै रातोमाटोको लेदोले सडक चिप्लो बनाएपछि सवारीसाधन गुडाउन समेत कठिनाई भएको छ । लेदो मिसिएको रातोमाटो मूल राजमार्गमा झर्ने क्रम नरोकिँदा एक हप्तायता सडक अवरुद्ध हुँदै आएको छ ।

गल्छी गाउँपालिका(७ भल्टारमा सिंचाईको लागि खेतमा लगाइएको पानीको निकाससँगै लेदो माटो सडकमा थुप्रँदा गत वर्ष पनि यही ठाउँमा महिनौं दिनसम्म सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि गाउँपालिकाले डोजर लगाएर लेदो माटो फाल्दै आइरहेको गल्छी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरि खतिवडाले बताए।

‘खेतका कान्लाबाट पानी रसाएर लेदो बग्छ। रोक्न सक्ने उपाय छैन। धानखेतमा पानी सुकाउन किसानले दिँदैनन्,’ बैरेनीस्थित प्रहरी चौकी इञ्चार्ज जनक बस्नेतले भने।

खेतमा पानी लगाएको समयमा मात्रै पहिरो खस्ने गरेको बस्नेत बताउँछन् । जामले हजारौं यात्रु बिच बाटोमा बिचल्लीमा पर्ने गरेका छन्। केही दिनयता राजमार्गमा सवारीसाधनको लाम देखिने गरेको छ। काठमाडौंबाट आउँदा सिम्लेसम्म र काठमाडौं जाँदा आदमघाटसम्म सवारीसाधनको लामो जाम हुने गरेको छ।

पहिरो खसेको सडक भन्दा माथि जमिन चिरिन थालेपछि आसपासका बासिन्दा समेत पहिरोको जोखिममा रहेका छन्।

प्रतिक्रिया