चाडपर्व नजिकिएसँगै मासुको मूल्य बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०७६, बुधबार ०९:२६

बाँके । चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् ।

भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महिनाअघिसम्म खसीको मासु प्रतिकिलो ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी ८०० नाघेको छ ।

‘एकातिर भारतबाट आउने खसीको आयतमा प्रतिबन्ध छ भने अर्कोतिर चाडबाड नजिकिँदै गएपछि बजारमा खसीको मासुको माग बढ्न थालेको छ,’ नेपालगञ्ज रामबागको मासु बधशालामा मासु व्यवसाय गर्दै आएका मासु व्यवसायी सगदिक कुरेसीले भने, ‘पर्व नजिकिएकाले मासुको मूल्य अझै बढ्न सक्ने सम्भावना छ ।’

भारतबाट सहजै आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो । अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको हो ।

दुई वर्षअघिसम्म किलोको ६५० मा पाइने मासुको मूल्य ८०० पुग्दा ग्राहक मर्कामा परेका छन् । ‘नेपालमा बजारको माग धान्ने खसी उपलब्ध छैनन्, पाइए पनि जिउँदो खसी भारतमा भन्दा महङ्गो छ,’ मासु व्यवसायी कुरेसीले भने, ‘महङ्गो खरीद गर्नुपर्दा बिक्री मूल्य पनि बढेको हो ।’ भारतबाट आयात असहज भएपछि सीमावर्ती जिल्लामा खसी तस्करी पनि हुने गरेको छ ।

प्रतिक्रिया