एक वर्षमा करिब नौ खर्ब रेमिट्यान्स भित्रियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७६, मंगलवार ०५:१०

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा करिब नौ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ‘देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति’मा रेमिट्यान्स आप्रवाह आठ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

गत आर्थिक वर्ष २०७५/०७६ मा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा सात खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आप्रवाह १०.२ प्रशितले बढेको थियो । गत आवमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजागारीमा जानेको सङ्ख्या ३२.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ९.३ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा चालू खाता दुई खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा दुई खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । यस्तै आव २०७५/०७६ मा शोधनान्तरस्थिति रु ६७ अर्ब ४० करोडले घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष शोधनान्तरस्थिति ९६ करोड रुपैयाँले बचतमा रहेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा पूँजीगत ‘ट्रान्सफर’ १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब सात करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१