गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७६, शुक्रबार १२:०६

काठमाडौं । भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।

बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिए । विगत वर्षभन्दा यसपटक गोकर्णेश्वरमा व्यवस्थित रुपमा मन्दिरमा दर्शन एवं परिसरमा श्राद्ध गर्ने व्यवस्था मिलाउन सकिएको उनले बताए ।

पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा देशका विभिन्न भागबाट आएका भक्तजनको बिहीबारदेखि भीड लागेको मन्दिरका पुजारी भट्टले बताए । कति भक्तजन बिहीबार बेलुकी नै मन्दिर परिसरमै आई बसेका थिए ।

यस वर्ष गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा प्यागोडाशैलीको तीन तले मन्दिरमा झिँगटीको छाना निकाली पित्तलमा सुन लेपन गर्ने काम पनि शुरु भएको छ । दोस्रो तलाको छानामा सुन लेपन गरिएको पित्तल हाल्ने काम सम्पन्न भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।

प्रतिक्रिया