रवि लामिछाने अस्मिताकै बयानले समस्यामा पर्लान् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७६, सोमबार ०५:५७

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आत्महत्याको दुरुत्साहन आरोपमा लामिछानेसहित तीन जना‍विरुद्ध चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिताअनुसार तीन जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोलीले अनुसन्धान पूरा गरेपछि आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन अभियोगअन्तर्गत अभियोगपत्र दायर गरिएको हो । सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोगअन्तर्गत रहेर नै अनुसन्धान पूरा गरेको जानकारी दिए ।

लामिछानेविरुद्ध भिडियो प्रमाण मात्र नभएर अन्य प्रमाण पनि जुटेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् । अर्कोतर्फ पक्राउ परेका तीन जनाबीचको मत पनि बाझिएको छ । ती अधिकारीकाअनुसार अस्मिताले बयानका क्रममा रवि र युवराजका कारण पुडासैनीले आत्महत्या गरेको बताइन् ।

अस्मिताले आफ्नो कारणले नभएर रवि र युवराजका कारणले गर्दा आत्महत्या गरेको बताएकी स्रोतको दावी छ । बयानका क्रममा रविले पनि आफ्नो कारणले घटना नभएको बताएको स्रोतले बताएको छ ।

अस्मितासँग चिनजान नभएको बताएका रविको भनाइ खण्डन गर्ने गरी अस्मिताले पहिल्यैदेखि चिनजान रहेको बताएकी छन् । रविले भने अस्मितालाई चितवन आएपछि मात्र देखेको बताएका छन् ।

अनुसन्धानमा सिआइबीका एसपी दीपक रेग्मीले भिडियोबाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

प्रतिक्रिया