सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला साढे ७२ हजारमा कारोबार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७६, आईतवार १५:३४

काठमाडौं । पछिल्लो डेढ महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुनको मूल्यमा प्रतितोला एक हजार २०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक हजार २०० रुपैयाँका दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार २०० रुपैयाँ पुगेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोवार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । यसअघि प्रतितोला ५र१० रुपैयाँका दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा आइतबार प्रतितोला २० रुपैयाँ वृद्धि भएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला ८५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ८३० रुपैयाँमा खरीदबिक्री भएको थियो ।

गत साउनको शुरुवातदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन महिनामा सुनको मूल्य प्रतितोला सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको थियो । भदौ महिना लागेपछि पनि दुई पटक सुनको मूल्य वृद्धि भएको छ । भदौमा छापावाला र तेजाबी सुन प्रतितोला एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ ।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५००, तेजाबी सुन ७१ हजार २०० तथा चाँदी प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔँस एक हजार ५२८।५० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०र२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१