विमानस्थल चौबीसै घण्टा सञ्चालन गर्न नाट्टाको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७६, मंगलवार ०४:४०

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि सरकारसँग माग गरेको छ । नाट्टाका पदाधिकारीसहितको टोलीले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई सिंहदरबारमा भेटगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान हवाई चाप व्यवस्थापनका लागि विमानस्थल २४ सै घण्टा सञ्चालनका लागि आग्रह गरेको हो ।

विमानस्थलमा हवाई ट्राफिकको चाप बढेका कारण लामो समय विमान आकाशमै ‘होल्ड’ गरी राख्नुपर्ने अवस्था रहेको र उडान गर्नुपर्ने विमान समयमा उडान गर्न नपाइरहेको अवस्थालाई न्यूनीकरण गर्न तत्काल सुधारका काम थाल्न आग्रह गरिएको छ । नाट्टाले पर्यटन क्षेत्रका विद्यमान समस्या, गरिनुपर्ने सुधार तथा सुझावसहितको १२ बुँदे प्रस्ताव मन्त्री भट्टराईसमक्ष पेश गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो पटक धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को काम हालै सम्पन्न भएको छ । अघिल्लो वर्ष जेठ १२ देखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आएको थियो । गत चैत २८ देखि जेठ मसान्तसम्म धावनमार्गको मर्मतको अवधिमा विमानस्थल दैनिक १४ घण्टा सञ्चालन भयो भने अहिले मर्मतपछि दैनिक पुनः २१ घण्टा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको स्तरोन्नतिसँगै पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक सुधारका काम तीव्र गतिमा भइरहेको जानकारी दिए ।

विमानस्थलको बढ्दो हवाई चाप नियन्त्रण तथा सेवा स्तरीकरणका लागि काम अघि बढाइएको उनले उल्लेख गरे । उनका अनुसार विमानस्थलको मर्मतको बाँकी काम आगामी सेप्टेम्बर १ देखि शुरु भई डिसेम्बर ३१ मा सम्पन्न हुनेछ । यो चरणमा विमानस्थलको ‘ट्याक्सी वे’, ‘लिङ्क रोड’ निर्माण लगायतका काम सम्पन्न गरिनेछ । अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा स्थापित गर्ने उद्देश्यले सुधारका काम थालिएको छ ।

नाट्टाका अध्यक्ष सीएन पाण्डेले पर्यटकको पहिलो प्रवेशद्वार विमानस्थल भएकाले मुलुकबारे पहिलो प्रभाव पार्ने हुँदा विमानस्थलको सबै सेवालाई चुस्त र प्रभावकारी तुल्याउन आग्रह गरे । उनले विमानस्थलको भौतिक संरचनाको (पार्किङ, ट्रली, शौचालय, टेलिभोन, नियमित सरसफाइ आदि) सुधार र सदृढीकरण अपरिहार्य रहेको उल्लेख गरे ।

पर्यटन क्षेत्रलाई अझ सबल बनाउन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको टड्कारो आवश्यकता भएकाले बाराको निजगढ विमानस्थलको निर्माण कार्य यथाशिघ्र शुरु गर्न नाट्टाले माग गरेको छ । यस्तै, निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा समयमै निर्माण सम्पन्न गरि यथाशक्य सञ्चालनमा ल्याउन तथा विराटनगर, धनगढीलगायत विमानस्थलको स्तरोन्नति गरिनुपर्ने सुझावपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१