गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको बुधवार साँझ र एक जनाको बिहीबार बिहान शव फेला परेको हो ।
लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी तरामु मगर र उनका छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।
पहिरोमा पुरिएर घाइते भएका ठूलोलुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडांै पठाइएको छ ।
पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ । पहिरो प्रभावित परिवारहरुलाई घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावि, धर्मपुर प्रावि, सरस्वती मावि लगायतका स्थानमा राखिएको छ ।
पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याइएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन् ।
प्रतिक्रिया