निःशुल्क रगत उपलब्ध गराउन ‘दिनको एक रुपैयाँ’ अभियान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० भाद्र २०७१, शुक्रबार ११:३३
म्याग्दी,   २० भाद्र   । नेपाल स्वयम्सेवी रक्तदाता समाज म्याग्दीले आर्थिक रूपमा विपन्नलाई निःशुल्क रगत उपलब्ध गराउन दिनको एक रुपैयाँ उठाउने अभियान सुरु गरेको छ ।

गरिब तथा विपन्न वर्गका व्यक्तिलाई उपचारका क्रममा रगत आवश्यक परेमा निःशुल्क उपलब्ध भएको रगत परीक्षणका लागि लाग्ने शुल्कसमेत जुटाउन कठिनाइ पर्ने भएकाले दिनको एक रुपैयाँ उठाउने अभियान सञ्चालन गरिएको हो ।

स्वेच्छिक रूपमा दिनको एक रुपैयाँ सहयोग सङ्कलन गरी रगत आवश्यक पर्दा रगत परीक्षण शुल्क तिर्न नसक्नेलाई सहयोग गरिने नेपाल स्वयम्सेवी रक्तदाता समाज म्याग्दीका अध्यक्ष सुरत केसीले बताउनुभयो ।

यस अभियानअन्तर्गत अहिलेसम्म रु ६ हजार सङ्कलन भइसकेको छ । अभियानमा नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले साढे पाँच वर्षको प्रतिदिन एक रुपैयाँको दरले एकमुष्ट रु दुई हजार, पोखराका अध्यक्ष तीर्थराज अवस्थी र जिल्ला अस्पतालका चिकित्सक सन्देश पन्तले साढे दुई वर्षको रु एक÷एक हजार र रक्तदाता समाज म्याग्दीका उपाध्यक्ष वीरेन्द्र श्रेष्ठले रु दुई हजार सहयोग गर्नुभएको हो ।
यो अभियानमा रक्तदाता समाज म्याग्दीका पदाधिकारीले दिनको एक रुपैयाँको दरले रकम सहयोग गर्ने निर्णय गरिसकेको रक्तसञ्चार केन्द्र म्याग्दीका संयोजकसमेत रहनुभएका रक्तदाता समाजका अध्यक्ष केसीले बताउनुभयो ।

निःशुल्क उपलब्ध भएको रगतको परीक्षणका लागि प्रतियुनिट रु ९०० खर्च लाग्ने भएकाले विपन्न वर्गका व्यक्तिलाई यो अभियानले राहत पुग्ने चिकित्सक पन्तले बताउनुभयो । म्याग्दीमा हाल नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले रक्तदाताबाट रगत सङ्कलन र बिरामीलाई रगत उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया