स्थानीयले गरे जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक अवरुद्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०७६, मंगलवार ०५:३१

काठमाडौं । जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्राजस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन् ।

सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासीको गुनासो छ ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलो पटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँदैछ । तर सडकको अवस्थामा कुनै परिवर्तन भएको छैन । सार्वजनिक जग्गा भएका स्थानमा विस्तार गर्न पर्खाल लगाए पनि अन्यत्र काम शुरु हुन सकेको छैन । काम शुरु हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन । सार्वजनिक जग्गामा पर्खाल लगाएको ठाउँमा समेत खाडल नपुर्दा सवारी आवागमनमा समस्या छ ।

गोकर्णेश्वर महादेव मन्दिरबाट भगवतीस्थानतिर आउने मूल सडकमा पर्खाल लगाए पनि बीचमा पर्ने रुख अझै काटिएको छैन । यसले गर्दा यातायात सञ्चालनमा अप्ठ्यारो भइरहेको छ ।

सडकको विभिन्न स्थानमा बनेका खाडलमा ताल र पोखरी छन् । करीब सात किमीको यो सडक विस्तार एवं निर्माणका लागि दुई चरणमा ठेक्का गरिएको थियो । दुवैतर्फको अधिकांश भागमा काम शुरु हुनसकेको छैन । काम शुरु गरेको स्थानमा पनि पूरा नगरी झुलाएर राखिएको छ ।

२०७२ सालमा गरिएको ठेक्काको पहिलो पटकको म्याद गत भदौमा सकिएपछि एक वर्षका लागि समय थप गरियो । थप गरिएको समय सकिन एक महीनामात्र बाँकी हुँदा काम भने शुरु हुनसकेको छैन । सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । सङ्घीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।

सडकको केन्द्रविन्दुबाट दायाँबायाँ ११र११ मिटर गरी २२ मिटरको सडक विस्तार गर्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो । दुई खण्डमा गरी करीब रु ५५ करोडको ठेक्का गरियो । मुआब्जा पाउनुपर्ने माग गर्दै स्थानीयवासीले विरोध जनाएपछि काम हुनसकेन । विसं २०७४ असोजमा सर्वोच्च अदालतले स्थानीयवासीको घरजग्गा लिएर सडक विस्तार गर्दा मुआब्जा दिनुपर्ने फैसला गरेको थियो ।

फैसलालाई पुनरावलोकन गर्न सडक विभागले गरेको पुनरावेदनमा पनि मुआब्जा दिएरै विस्तार गर्न आदेश जारी भइसकेको छ । यो सडकको सबै भाग गोकर्णेश्वर नगरपालिकामा पर्छ । करीब सात किमीको यो दूरीमा नौ सय घर छन् ।

चावहिल–बौद्ध–जोरपाटी–थली–साँखु सडक विस्तार समेत पूरा नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । यो मार्गको बीचबीचमा १०० र २०० मिटर कालोपत्र गरिए पनि अधिकांश भाग हिलाम्य छ ।

ठाउँ ठाउँमा बनेका खाडलमा वर्षाद्मा परेको पानी जमेर गाडी हिँड्दा छप्ल्याङ् छप्ल्याङ गरी सडक किनारमा हिँडेका यात्रुको जीउभरी हिलो छ्यापिने गर्छ । घाम लागेका बेला भने धुलोले सडक नदेखिने समस्या रहेको छ । जीर्ण यो सडक छिटो कालोपत्र हुनुपर्ने माग गरी डेढमहीना अघि बन्द गरेर विरोध जनाए पनि समस्या समाधान नभएको स्थानीयको गुनासो छ । राजधानीका विभिन्न स्थानका सडक लामो समयदेखि बन्न नसकेपछि स्थानीयवासी जनप्रतिनिधिसँग रुष्ट छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१