राखेपको सदस्य सचिव पदको सपथ लिएपछि सिलवालले भने- ‘मुख्य लक्ष्य साग खेलकुद’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०७६, मंगलवार ०५:००

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को १८ औं कार्यकारी प्रमुखको रुपमा सदस्य सचिव पदको सपथ लिएपछि रमेशकुमार सिलवालले मंसिरमा नेपालमा हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद (साग) को आयोजना आफ्नो मुख्य अर्जुनदृष्टि बनाएका छन् ।

राष्ट्रिय गौरवको साग खेलकुद आयोजनालाई राज्यको प्रतिष्ठा मान्दै समयमै सफलतापूर्वक सम्पन्न गर्ने पहिलो प्रतिबद्धता उनको छ।

सोमबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सदस्य सचिव पदको सपथ ग्रहण गराउँदै खेलकुदको समग्र बिकासका लागि सबै पक्षसँगको सुझाव र सहकार्यमा काम गर्ने बताएका सिलवालले परीवर्तनको आत्मविश्वाससहित खेलकुदको जिम्मेबारी स्वीकार गरेको बताए। तर उनले अहिले नै बुझेका छन् कि यो कार्य निकै चुनौतिपूर्ण छ।

‘प्रधानमन्त्रीले अन्य थुप्रै नियुक्ति रोज्न दिनुभएको थियो, चुनौती स्वीकार गरेरै खेलकुदको जिम्मेबारी लिएको हुँ, अबको चार वर्ष नेपाली खेलकुदको शिर झुक्न दिने छैन,’ सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नवनियुक्त सदस्य सचिव सिलवालले भने।

सन् २०१८ मै सम्पन्न हुनुपर्ने साग खेलकुदको मिति तेस्रोपल्ट सरेर मंसिर १५ देखि २७ गतेसम्मका लागि तोकिएको छ। चार महिनाको समय बाँकी हुँदा पूर्वाधार र प्रशासनिक तयारीका धेरै कामहरु बाँकी छन्। त्यसैले उनले घोषणा गरेका छन् कि हनिमुन समयमै नतिजा निस्कनेगरी काम समपन्न गर्नेछु। साग खेलकुदका लागि कार्यविधि पनि तयार नभएको अवस्था स्मरण गर्दै उनले सागको आयोजना सहज हुने गरी सबै तयारी छिट्टै सुरु हुने प्रतिबद्धता व्यक्त गरे।

‘म के कुरामा सचेत छु भने राष्ट्रिय गौरवको रुपमा रहेको साग आयोजना पटक पटक सरेर राष्ट्रिय बेइज्जत भइसकेको छ। अक जुन मितिमा तोकिएको छ त्यसका लागि ४ महिनाको समय छ, त्यसमध्ये २ महिना बर्खा छ। त्यो भनेर मैले सुख पाउने अवस्था छैन,’ उनले भने, ‘क्यालेन्डर बनाएर हरेक दिन गर्ने कामको योजना बनाउनुपर्छ। धेरै बोल्नुभन्दा एउटा काम नै महत्वपूर्ण हुन्छ। म तपाईहरुलाई काम गरेरै खुसी तुल्याउनेछु र कृपया शुभकामना आदानप्रदान र पदक वितरण कार्यक्रममा नबोलाएर सहयोग गरिदिनुहोला।’

खेलकुद मन्त्रालय, ओलम्पिक कमिटी, राखेप उपाध्यक्ष लगायत कर्मचारी तथा सम्बद्ध सबै पक्षसँगको छलफल र राय संकलन गरी खेलकुद बिकासका लागि योजना बनाइने सदस्य सचिव सिलवालले बताए। उनले सागअघि ऐन कानून तथा अन्य योजना कार्यान्वयनका लागि समय नभएको पनि प्रष्ट पारेका छन्।

लामो समयदेखि नेपाली खेलकुदसँग पनि जोडिएका सिलवाल मुख्यतः शिक्षा क्षेत्रका स्थापित व्यक्तित्व हुन्। उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ हिसानका अध्यक्ष सिलवालले आफू जागीर खानका लागि मात्रै सदस्य सचिवको जिम्मेबारीमा नआएको स्पष्ट पारे। ‘जीवनको दुई तिहाई उमेर शीर ठाडो पारेर बिताएको छु। बाँकी जीवन पनि अझै राम्रो काम गरेर सार्थक बनाउन चाहन्छु,’ उनले थपे।

खेलकुद हरेक नागरिकको दैनिकीसँग जोडिएको विषय भएको र त्यसबाहेक त्यसबाहेक राष्ट्रियरअन्तर्राष्ट्रिय गौरवमा पनि मुख्य भूमिकामा रहने भएकाले यसको उत्थानका लागि योजना तयार गरिने सदस्यसचिवले बताए। उनले भ्रष्चाटारमा शून्य सहनसीलताको सरकारी अठोट पनि ब्यक्त गरे। उनले भने, ‘म स्वच्छ र पारदर्शी प्रशासन देख्न चाहन्छु। बिधि विधान र अपारदर्शी काममा सामेल हुने छैन। मेरा नजिकका मान्छेहरुले पनि नराम्रो कामका लागि प्रोत्साहन नगर्नुहोला।’

सिंहदरबारस्थित खेलकुद मन्त्रालयको हलमा भएको सपथ कार्यक्रममा निवर्तमान सदस्य सचिव केशवकुमार विष्ट पनि उपस्थिति थिए। खेलकुदमा अहिलेसम्म पुरानाले नयाँ सदस्यसचिवलाई स्वागत गर्ने प्रथा नभएकाले सुरुआतका लागि आएको विष्टले बताए। उनले आफूले सुरु गरेका राम्रा कामलाई निरन्तरता दिन अनुरोध गरे भने नयाँ योजनासँगै सफल कार्यकालको शुभकामना दिए। निवर्तमान सदस्य सचिव विष्ट सपथ ग्रहण र पदबहाली दुवै कार्यक्रममा सहभागी थिए। नवनियुक्त सदस्यसचिव सिलवालले सपथपछि त्रिपुरेश्वरस्थित राखेप केन्द्रीय कार्यलयमा पदभार ग्रहण गरेका हुन्।

खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदसँग परिचित व्यक्तिको आगमनले आशा जागेको बताउँदै मन्त्रालयको साथ, सहकार्य र समन्वयमा कमी नआउने बताए। मन्त्रालयका सचिव कृष्ण देवकोटाले अहिलेसम्म सागको तयारी म्याराथन गतिमा रहेको र यसलाई १ सय मिटरको गतिमा बढाउन अत्यावस्यक भइसकेको बताए। त्यसका लागि नवनियुक्त सदस्यसचिव सिलवाललाई उनले शुभकामनासमेत दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१