काठमाडौं । ईन्द्रावती गाउँपालिका–५, सिन्धुपाल्चोक घर भएकी ६१ वर्षीय सावित्री भट्टराईलाई छोरीप्रति ठूलो भरोसा थियो । उनी आफूले भरोसा गरेकै विवाहित छोरी ईश्वरी भट्टराईको घर चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा भुईतलामा बस्थिन् ।
६१ वर्षीय सावित्रीको आइतबार घाँटी रेटी हत्या भयो । दिनको समयमा भएको सो हत्याले स्थानीय त्रसित बने ।
हत्याको केहीं समयमै घटना स्थल पुगेको प्रहरीले हत्या किन गरियो र हत्यारा को हुन् भन्ने अनुसन्धान सुरु गर्यो । अनुसन्धानको सुईं सावित्रीको छोरी तथा घरबेटी ईश्वरीतिरै मोडियो ।
अन्ततः प्रहरीले छोरी ईश्वरीकै योजनामा आमा सावित्रीको हत्या भएको निष्कर्षमा पुग्यो । प्रहरीले ईश्वरीलाई नियन्त्रणमा लियो । र, ईश्वरीले घटना स्वीकार गरिन् ।
प्रेम लुकाउन हत्या
प्रहरीका अनुसार ईश्वरी भट्टराई विवाहित महिला हुन् । घरमा पतिसहित बस्दै आएको ईश्वरी परपुरुष सम्बन्धमा थिइन् । उनको प्रेमी हुन्, सिराहा विष्णुपुर घर भई हाल पुरानो ठिमीमा बस्दै आएका मोहम्मद नौसाद । मोहम्मद ईश्वरी भन्दा ४ वर्ष कान्छा हुन् । ईश्वरी २७ वर्षकी छिन् भने मोहम्मद भर्खरै २४ वर्ष पुगे ।
‘उनीहरुबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध भएको देखिन्छ,’ महानगरी प्रहरी अपराध महाशाखाका प्रहरी नायव उपरिक्षक (डीएसपी) रविन कार्की भन्छन् ।
प्रहरीका अनुसार पति हुँदा हुँदै परपुरुषसँग एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको र अनैतिक कार्य गरेको पछिल्लो समय ईश्वरीकी आमा सावित्रीले थाहा पाएकी थिइन् । प्रेम सम्बन्ध आमाले थाहा पाएको बारेमा ईश्वरी र उनका प्रेमी पनि जानकार थिए ।
उनीहरुलाई आमाले आफूहरुको सम्बन्ध सार्वजनिक गरिदिने र समाजमा बेइजत हुने सोंचे । सम्बन्ध बाहिर आउँदा ईश्वरीको पारिवारिक सम्बन्ध बिग्रन्छ की भन्ने डर उनीहरुलाई भयो ।
प्रहरी अनुसन्धानका अनुसार ईश्वरीले अमानवीय कठोर निर्णय लिइन्, परपुरुषसँगको सम्बन्ध सार्वजनिक भएर समाजमा बेइजति भोग्नु भन्दा आमालाई नै मारिदिने । उनले त्यो कुरा आफ्ना प्रेमी मोहम्मदलाई सुनाइन् ।
आमाको हत्या गर्न १२ लाखको सुपारी दिने ईश्वरीको प्रस्तावमा मोहम्मद राजी भए । १२ लाख ईश्वरीले एक्लै खर्च गर्न तयार भइन् या मोहम्मदले पनि साझेदारी गरे भन्ने प्रहरीले खुलाएको छैन ।
ईश्वरी र मोहम्मदको सहमति पछि मोहम्मदले पूर्वी दिल्ली घर भएका भारतीय नागरिक अर्जुन कुमार भन्ने भोला कुमारसँग सल्लाह गरे । मोहम्मद र भोला कुमारले १२ लाखको सुपारी मधुमनी जिल्ला रजौरी थाना, दुभौली पञ्चायत घर मोहम्मद रहिशलाई दिए ।
मोहम्मद रहिश सुपारी लिएर नेपाल आए । र, सावित्री भण्डारीको घाँटी रेटेर सोमबार हत्या गरे ।
सबै अभियुक्त पक्राउ
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ईश्वरी भट्टराईसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
प्रहरीले हत्याका प्रमुख योजनाकार मानिएकी २७ वर्षीय ईश्वरी भट्टराई, उनका प्रेमी २३ वर्षीय मोहम्मद नौसाद, भारतीय नागरिक अर्जुन कुमार भन्ने २४ वर्षीय भोला कुमार र अर्का भारतीय नागरिक २४ वर्षीय मोहम्मद रहिशलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
प्रहरीले उनीहरुले हत्यामा प्रयोग गरेको भनिएको चक्कु पनि सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ परेकाहरुले आरोप स्वीकार गरेको बताएको छ । डीएपी कार्कीले पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताए ।
प्रतिक्रिया