सरकारले ३०० वटा विद्युतीय बस खरिद गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७६, बिहीबार ०४:५८

काठमाडौं । सरकारले ३०० वटा विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको छ ।

विद्युतीय बस खरिद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । बस कुन प्रक्रियाबाट खरिद गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक छलफल भइरहेको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए ।

बस खरिद गर्दा एक सरकारबाट अर्को सरकार ९जी टू जी० प्रक्रियाबाट वा सोझै कुनै पनि कम्पनीलाई ठेक्कामार्फत दिने भन्ने विषय टुङ्गो लाग्न बाँकी रहेको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार सरकारले सार्वजनिक खरिद ऐनअनुसार नै खरिद गर्ने वा आफैँ सोझै कुनै देशसँग वार्ता गरेर खरिद गर्ने भन्ने केही समयभित्र निर्णय हुनेछ ।

प्रवक्ता ज्ञवालीले भने, ‘अहिले मन्त्रालयले सम्बन्धित सबैसँग छलफल गरिरहेकाले एक–दुई हप्ताभित्रै टुङ्गो लगाइनेछ ।’

बस खरिद गर्ने प्रक्रियासँगै बस सञ्चालनको तरिकाबारे समेत छलफल भइरहेको उनले बताए । ज्ञवालीका अनुसार अरू कुनै निकयसँगको सहकार्यमा वा आफैँले पनि सञ्चालन गर्ने भन्ने टुङ्गो लगाउन बाँकी छ । साझा यातायातलाई नै जिम्मेवारी दिने भन्ने निर्णय पनि भइसकेको छैन । उनले भने, ‘साझा वा अरू कुनै संस्थालाई जिम्मेवारी दिन पनि सकिन्छ वा हामी आफैँ कुनै एउटा संयन्त्र खडा गरेर त्यसैलाई विद्युतीय बस सञ्चालनको जिम्मेवारी दिन सकिन्छ ।’

विद्युतीय बस खरिदका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेको छ । अपुग भए थप बजेट निकासा गर्न सकिने उनले बताए । उनले भने, ‘बजेटकै अभावमा विद्युतीय बस सञ्चालन नहुने भन्ने हुँदैन ।’

मन्त्रिपरिषद्को गत पुसमा बसेको बैठकले ३०० विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले खरिद गर्ने भने पनि कसरी र कुन निकायमार्फत खरीद र सञ्चालन गर्ने निर्णय नगरेकाले अहिले यी विषय निर्णयका क्रममा रहेको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१